शुक्रबार र शनिबार निरन्तर परेको अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका घटना बढ्दा मृत्यु हुनेको संख्या ५३ पुगेको छ । नेपाल प्रहरीले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न भागमा बाढीपहिरोका कारण ५३ जनाले ज्यान गुमाएका छन् ।
सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ । इलाममा मात्रै ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै पाँचथरमा ८, उदयपुर र खोटाङमा २–२ जनाले ज्यान गुमाएका छन् । मधेश प्रदेशमा रौतहटमा तीनजनाको मृत्यु भएको छ ।
शुक्रबारदेखि निरन्तर परिरहेको वर्षाले देशका धेरै स्थानमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ । अझै पनि केही जिल्लाबाट तथ्याङ्क संकलन जारी रहेको प्रहरीले जनाएको छ ।
मृतकहरुको नामावली:





बाढी पहिरोमा बेपत्ताहरु

तीन दिनदेखिको वर्षाले विशेष गरी मधेश प्रदेशका जिल्लाहरूमा जनजीवन अस्तव्यस्त बनेको छ । बाराबाहेक अधिकांश जिल्लामा सयौँ घर डुबानमा परेका छन् भने सयौँ परिवार विस्थापित भएका छन् ।
रातु नदीमा आएको बाढीले बाँध भत्किएपछि महोत्तरीका पाँच पालिका महोत्तरी गाउँपालिका, बलवा, जलेश्वर, मनरा सिसवा र एकडाँडा गाउँपालिकाका बस्तीहरू जलमग्न बनेका छन्।
जलेश्वर कारागारमा समेत पानी पसेपछि कैदीबन्दीलाई माथिल्लो तलामा सारिएको छ । २२ घरपरिवारका १२२ जनालाई उद्धार गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले बताए ।
सर्लाहीमा डुबानका कारण १ हजार ६ सय १९ घरपरिवार विस्थापित भएका छन् । चक्रघट्टा गाउँपालिका–१ का २० वटा कच्ची घर पूर्णरूपमा क्षति भएका छन् भने १९ जनालाई उद्धार गरिएको छ ।
हुलाकी सडकको कौडेना गाउँपालिका–३ खण्डमा १५० मिटर सडक लखनदेही खोलाले बगाएको छ । स्थानीय निकाय र सुरक्षाकर्मीले मर्मतको काम थालेका छन् ।
सप्तरीमा १४२ घरपरिवारका ८१६ जना बाढी र डुबानका कारण विस्थापित भएका छन्। सप्तकोसी नगरपालिका–६ त्रियुगा नदी, डाक्नेश्वरी–९, हनुमाननगर–१२ र राजगढ गाउँपालिका लगायतका क्षेत्र डुबानमा परेका छन्। ८० जनाको उद्धार गरिएको र ६६१ जना प्रहरी परिचालन गरिएको डीएसपी डम्बरबहादुर पुरीले बताए।
मधेशमा सबभन्दा बढी मानवीय क्षति रौतहटमा भएको छ । शनिबार चट्याङ लागेर तीनजनाको मृत्यु भएको र एक बेवारिसे शव फेला परेको छ । ईशनाथ नगरपालिका–८ का शेख जमरुल, कटहरिया–२ का शेराज लहेरी र नवीन यादवको चट्याङले ज्यान लिएको हो ।
त्यस्तै, बागमती नदीमा दाउरा टिप्ने क्रममा माधवनारायण–८ की ७५ वर्षीया पन्मा देवीको डुबेर मृत्यु भएको छ। दर्जनौँ घर डुबानमा परेका छन्।
धनुषा, सिराहा र पर्सामा समेत डुबानका घटना भएका छन्। वीरगञ्ज महानगरपालिका–११ मा डुबानमा परेका दलित बस्तीका ९ घरपरिवारका ३६ जनालाई उद्धार गरिएको छ।
बारामा सामान्य क्षति पुगेको र सिराहामा फाट्टफुट्ट घरहरू डुबानमा परेको प्रहरी जानकारी छ।
तीनवटै सुरक्षा निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना बाढीपीडितहरूको उद्धार र राहतमा खटिएका छन् । सशस्त्र प्रहरीका अनुसार मधेश प्रदेशका विभिन्न जिल्लामा १८० भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ ।