ओली–लेखक पक्राउ माग पठाइयो आयोगमा, बालेन–सुधनविरुद्ध पनि उजुरी
जेनजी आन्दोलनका क्रममा भएको हत्या, आगजनी, तोडफोड र लुटपाट प्रकरणमा दुईवटा फरक–फरक जाहेरी दर्ता भएका छन् । पहिलो जाहेरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध परेको छ भने त्यसको प्रतिक्रिया स्वरूप अर्को जाहेरी काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ विरुद्ध दर्ता गरिएको छ।
ओली र लेखकविरुद्धको जाहेरी आयोगमा पठाइयो
जेनजी आन्दोलनका घाइतेका परिवारले नेकपा (एमाले) अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै दिएको जाहेरी काठमाडौं प्रहरीले लिएर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ ।
प्रहरीका अनुसार जाहेरी बुझेर आयोगमा पठाइएको हो । प्रहरी यो विषय प्रत्यक्ष कार्यक्षेत्रमा नपर्ने उल्लेख गर्दै कार्यक्षेत्र भएको निकायलाई पठाइएको जनाएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमा ओली र लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित ट्रेन्ड चलाइएको थियो । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ र उनका सहकर्मीहरूले समेत सरकारलाई ओली–लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै ध्यानाकर्षण गराएका थिए । त्यस क्रममा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह पनि बालुवाटार पुगेर प्रधानमन्त्रीलाई सो मागबारे दबाब दिएको बताइएको छ ।
त्यसपछि सरकारले गएराति सुरक्षा निकायका प्रमुखहरूसँग जेनजी आन्दोलनका विषयमा विशेष छलफल गरेको बताइएको छ ।
बालेन र सुदनविरुद्ध एमाले अखिलको किटानी जाहेरी
यता नेकपा (एमाले) निकट अखिल (अनेरास्ववियु) ले काठमाडौंका मेयर बालेन्द्र शाह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गराउने प्रयास गरेका छन् । भदौ २३ र २४ गतेको आन्दोलनमा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत राज्यका महत्त्वपूर्ण निकायमा भएको आगजनी र तोडफोडमा उनीहरूको संलग्नता रहेको आरोपसहित अखिलका नेताहरू मंगलबार जिल्ला प्रहरी परिसर पुगेका थिए ।
अखिलका महासचिव दीपक धामीका अनुसार प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरी २४ घण्टाभित्र दर्ता गर्ने कि नगर्ने निर्णय लिने जनाएको छ ।
अखिलका अनुसार जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीमा बालेन र सुदनको प्रत्यक्ष भूमिका रहेको भन्दै उनीहरूलाई तत्काल पक्राउ गर्न माग गरिएको छ ।
‘काउन्टर जाहेरी’ को रूप
ओली–लेखकविरुद्धको जाहेरीका केही बेरमै बालेन र सुदनविरुद्ध पनि उजुरी परेपछि राजनीतिक वृत्तमा यसलाई ‘काउन्टर जाहेरी’ का रूपमा हेरिएको छ ।
पहिले सुदनको समूहले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि कारबाही माग्दै जाहेरी दिएको थियो भने मंगलबार एमाले निकट विद्यार्थी संगठनले सोही आन्दोलनका अगुवामाथि आरोप लगाउँदै उजुरी दर्ता गराएको हो ।
आयोगको स्पष्टोक्ति: प्रतिवेदन कुर्न नपर्ने
यसैबीच भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै फौजदारी कसुरमा संलग्न जोकोहीलाई आयोगको प्रतिवेदन कुर्न नपर्ने जनाएको छ ।
आयोगका सदस्य विज्ञान राज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूले तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।”
आयोगले भौतिक तथा मानवीय क्षतिको सूचना संकलन र विश्लेषण गर्दै कारबाहीका सम्बन्धमा राय दिने कार्यादेशअनुसार काम गरिरहेको जनाएको छ।
गत असोज ९ गते गृहमन्त्रालयले आयोगले छानबिन गरिरहेको भन्दै सो अवधिका आन्दोलनमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ नगर्न निर्देशन दिएको थियो । उक्त परिपत्रका कारण केही पक्राउ परेका व्यक्ति अनुसन्धान नटुंगिँदै छुटेका थिए । तर अब आयोगले स्पष्ट पारेको छ, आवश्यक परे तत्काल अनुसन्धान र कारबाही गर्न सकिनेछ ।