२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने अष्ट्रेलिया पहिलो देश



अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने विश्वकै पहिलो कानुन लागू भएपछि लाखौँ बालक–किशोरका फेसबुक, इन्स्टाग्राम, टिकटकदेखि युट्युबसम्मका खाताहरू एकैपटक बन्द भएका छन् । सोमबारदेखि लागू भएको यो कानुनले इंस्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, टिकटक, किक, ट्विच, रेडिट र युट्युबजस्ता प्लेटफर्मलाई कडा रूपमा कार्यान्वयन गर्न बाध्य बनाएको छ ।

कानुनले अभिभावक वा बालबालिकालाई भने कुनै सजाय दिँदैन, तर प्लेटफर्महरूले नियम उल्लंघन गरेमा अधिकतम ४९.५ मिलियन अष्ट्रेलियन डलर (झन्डै ३२ मिलियन डलर अमेरिकी) जरिवाना भोग्नुपर्नेछ । सरकारका अनुसार, यो कदम युवा पुस्तालाई हानिकारक सामग्री, अनलाइन दुर्व्यवहार र जोखिमपूर्ण चुनौतीहरूबाट जोगाउन ल्याइएको हो । आलोचकहरूले भने यसले कमजोर तथा संवेदनशील किशोरलाई अझै एक्ल्याउन सक्छ र उनीहरूलाई अनियमित इन्टरनेट कुनातिर धकेल्न सक्छ भन्ने चेतावनी दिएका छन् ।

विश्वभरका सरकारहरूले अष्ट्रेलियाको कदमलाई ध्यानपूर्वक हेरिरहेका बेला, सफलता कसरी नाप्ने भन्ने विषयमा भने अझै स्पष्टता छैन । अष्ट्रेलियाका किशोर–किशोरी स्वयं पनि यो प्रतिबन्धबारे विभाजित देखिन्छन्, कतिपय ‘अपमानित’ अनुभूति गरिरहेका छन् भने कतिले ‘छिट्टै बिर्सिने’ प्रतिक्रिया दिएका छन् ।

यसबीच, अष्ट्रेलियाको निर्णयले ब्रिटेनमा बस्ने एक आमाको पीडालाई फेरि चर्चामा ल्याएको छ । ग्लोसस्टरसायरकी एलेन रुमका १४ वर्षे छोरा जुल्स स्वीनी सन् २०२२ मा एक अनलाइन च्यालेन्जको जोखिमपूर्ण प्रयासका कारण मृत फेला परेका थिए । उनले छोराको सामाजिक सञ्जाल खाता जाँच्न नपाएका कारण सत्य पत्ता लगाउन नपाएको बताउँछिन् । अष्ट्रेलियाली कदमलाई “साहसी र अग्रगामी” भन्दै उनले बेलायतले भने बालबालिकाको सुरक्षा पर्याप्त रूपमा नगरेको आरोप लगाइन् ।

अन्य देशमा पनि यस्तै प्रतिबन्ध वा कडा नियम ल्याउने प्रयास भइरहेका छन् । फ्रान्समा १५ वर्षमुनिका लागि अभिभावकको सहमतिसँग मात्र खाता खोल्ने नियम बनेपनि कार्यान्वयन थालिएको छैन । चीनमा इन्टरनेट कडाइका बीच समय सीमा मात्र लागू छ । डेनमार्कले १५ वर्षमुनिका लागि प्रतिबन्धको योजना सार्वजनिक गरेको छ भने जर्मनीमा १६ वर्षमुनिका सामाजिक सञ्जाल प्रयोग अभिभावक सहमतिमा मात्र मान्य छ । स्पेनले पनि न्यूनतम उमेर १६ वर्ष पुर्‍याउने कानून अनुमोदन प्रक्रियामा छ । मलेसियाले १६ वर्षमुनिका लागि पूर्ण प्रतिबन्धको तयारी गरिरहेको जनाएको छ ।

सामाजिक सञ्जाल प्रयोगमा नाबालकलाई रोक्न गरिएको अष्ट्रेलियाको कदमले विश्वभर बहस चलिरहेको छ—के यसले बालबालिकालाई सुरक्षित बनाउँछ, वा उनीहरूलाई अझै अनियमित इन्टरनेटतिर धकेल्छ? यसका परिणाम अब केही दिनमै देखिन थाल्नेछन्।

प्रकाशित मिति : २४ मंसिर २०८२, मंगलबार  ११ : ०१ बजे