१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, उच्च सतर्कता अपनाउन निर्देशन



प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना तथा त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै सुनसरीको पछिल्लो सुरक्षा अवस्था, चुनौती र सम्भावित जोखिमबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थितिलाई तत्काल नियन्त्रणमा लिन, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने उद्देश्यले सक्रिय हुने तत्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै पनि किसिमको सम्झौता नगर्न स्पष्ट निर्देशन दिँदै गृह मन्त्रालय मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ परिचालन गर्न आग्रह गरेका छन्।

सरकारले सुनसरीको अवस्थालाई संवेदनशील रूपमा लिँदै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ८ : ०८ बजे