१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ओखलढुंगा जिप दुर्घटनामा ज्यान गुमाउने अधिकांश बौद्धस्थित वालुङ समाजको गुम्बाका लामा गुरुहरु


१७ चैत्र २०७५, आइतबार  

0
Shares

काठमाडौं । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी नजिकै भडारे खोलामा स्कार्पिओ जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो ।

सोलुखुम्बुस्थित जुनबेसी गुम्बाबाट पूजापाठ गरेर काठमाडौं फर्कंदै गर्दा बा १६ च २२०७ नं को जीप दुर्घटनामा परेको थियो ।

स्कार्पियो दुर्घटनामा ज्यान गुमाउनेमा अधिकांश ताप्लेजुङको रहेको बुझिएको छ । प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनमा ताप्लेजुङ, ओलाङ्चुङ्गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा तथा काठमाडौं बौद्धका ४० वर्षीय ङवाङसेर्तुङ शेर्पा, ३५ वर्षीय नोर्बु शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार अनुसार ज्यान गुमाएकामध्ये चार पुरुष र दुई महिला छन् ।

जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी चालक कृष्ण श्रेष्ठसहित तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको उदयपुरको घुर्मीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको ग्र्यान्डी अस्पतालमा थप उपचारका लागि ल्याइएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरु बौद्धको नयाँ बस्तीस्थित वालुङ समाजको गुम्बाका लामा गुरुहरु रहेको समाजसेवी याङजुम शेर्पाले एभरेस्ट टाइम्सलाई उल्लेख गरिन् । ‘अधिकांश ताप्लेजुङबाट बसाई सरेर आउनुभएकोहरु हुनुहुन्छ । वालुङ समाजको गुम्बाका धर्मगुरुहरु हुनुहुन्थ्यो,’ शेर्पाले भनिन्, ‘नराम्रो खबर सुनियो । अहिले गुम्बामा सबैजना शोकमा हुनुहुन्छ ।’ कतिपयको आफन्त बिदेशमा रहेको र केहीको भने गाउँको विकट ठाउँमा रहेकोले खबरसमेत पुग्न नसकेको शेर्पाले जनाइन् । मृतकको शव भोलिमात्र काठमाडौं आइपुग्ने बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १० : १७ बजे