१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा दुई चेली


१२ माघ २०७४, शुक्रबार  

0
Shares

धर्मचन्द्र योञ्जन तामाङ

काभ्रे । रोशी गाउँपालिका वडा नं ११, भिमखोरीकी शर्मिला स्याङतान तामाङ र दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं २ की छोकी शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा छन् ।

भगवान बुद्धको जन्म नेपालमा भएको ध्रुवसत्यलाई कुल्चेर भारतीय सञ्चार माध्यमहरूले बुद्धको जन्मस्थलको सम्बन्धमा विभिन्न भ्रमहरू फैल्याइ बुद्धलाई नै विवादास्पद तुल्याउने कार्य भइरहेको अवस्थामा “बुद्ध नेपालमा जन्मेका हुन् ” भन्ने सन्देश लेखिएको व्यानरसहित सगरमाथा आरोहण गर्न लागिएको पर्वतारोही तामाङले जानकारी दिए । पर्वतारोही शेर्पाले पर्यटन क्षेत्रको विकास र पर्वतारोहणमा महिलाहरूको सहभागिता वृद्धि गराउने उद्देश्यका साथ सगरमाथा आरोहण गर्न लागिएको बताइन् ।

२०१७ को अगस्ट २४ मा गौरीशंकर हिमाल नजिक रहेको रामदुङ हिमालको सफल आरोहण गरिसकेका महिला पर्वतारोही तामाङ र शेर्पा पायोनियर एड्भेन्चर नामक संस्थाको सहयोगमा आगामी वसन्त ऋतुमा सगरमाथाको आरोहण हुने भएको छ । उनीहरुलाई लाक्पा शेर्पाले नेतृत्व गर्नेछिन् । लाक्पा शेर्पा के-२ आरोहणमा कम उमेरको आरोहीको रुपमा रेकर्ड राखेकी आरोही हुन् ।

सगरमाथा आरोहणको तयारीमा रहेकी तामाङ ‘नाम्सादिम छोरडान नेपाल’को सदस्य समेत रहेको हुदाँ संस्थाको तर्फबाट सक्दो सहयोग गर्नुपर्दछ र आवाज विहिनहरूको आवाज सगरमाथाको चुचुरोसम्म पुग्नु पर्दछ भन्दै यस संस्थाको अध्यक्ष हिरामान बल तामाङले सदस्य शर्मिला स्याङतान तामाङलाई सफल सगरमाथा आरोहणको लागि अग्रिम शुभकामना दिएका छन् ।

“नाम्सादिम अहिले हामीमाझ उभिएको छ, यसलाई आवाज विहिनहरूको आवाजकै रूपमा अझै परिस्कृत तवरले अगाडि बढाउनको लागि मेरो तर्फबाट सक्दो सहयोग हुनेछ ।” आरोही तामाङले भनिन – “म सगरमाथा चढ्ने साहस लिएर अघि बढ्ने काभ्रेकै पहिलो चेली हुँ, आवाज विहिनहरूको आवाज लिएर सगरमाथाको शिखर चुमेर फर्कने छु ।”

सगरमाथा शिखरमा सर्वप्रथम सन १९५३ मे २९ तारिकको बिहान ११:१५ बजे तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पाइला राखेका थिए भने १९७५ को मे १६ मा जुनको तबेइले महिलाको पहिलो पाइला शिखरमा पुराएकी थिईन ।

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार  २ : ३९ बजे