निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, ६५ प्रतिशत मत खस्यो

२०७४ मंसिर १०, आईतवार २०:४८

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणअन्तर्गत ३२ जिल्लाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अायोगले जनाएको छ।

निर्वाचन सम्पन्न भएपछि अाइतबार साँझ पत्रकार सम्मेलन गरी अायाेगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको निर्वाचनका लागि कायम भएका चार हजार ४६५ मतदान केन्द्रमध्ये छिटफुटबाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए ।

उनले भने “प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा आज भएको मतदान कार्य ऐतिहासिकरूपमा सफल भएको जानकारी दिन पाउँदा आयोग हर्षित छ ।”

केही मतदान केन्द्रमा मतदान प्रतिनिधि समयमा उपस्थित नभएका कारणले केही ढिलो मतदान आरम्भ भए पनि सबै मतदान केन्द्रहरूमा तोकिएकै समयमा निर्वाचन शुरू भएको जनाउँदै आयोगले मतदाता उत्साहजनकरुपमा मतदानमा सहभागी भएबाट संविधान कार्यान्वयनलाई पूर्णता दिन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र राजनीतिक स्थायित्व दिने कार्यप्रति नेपाली जनता प्रतिबद्ध रहेको प्रष्ट भएको उल्लेख गरेको छ ।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको बताउनुभयो । मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने आयोगले अनुमान गरेको छ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका–११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको अायाेगले जनाएकाे छ । पहिलो चरणको निर्वाचनलाई कायम गरिएका चार हजार ४६५ मतदान केन्द्रमध्ये दुईवटा मतदान केन्द्रमा मात्र पुनः मतदान हुने आयोगले जनाएको छ ।