५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

शुक्रबारदेखि देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौँ । नेपाल जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि आइतबारसम्म (असोज ९ देखि असोज ११ गतेसम्म) नेपालका विभिन्न भेगमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

सोमबार मनसुनसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले सबै प्रदेशका केही स्थानमा अति धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ ।

उत्तरी अन्डमन सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली हाल बंगालको खाडीको मध्य भू-भागमा रहेको र यो थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको छ। यसै प्रणालीको प्रभावले बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने महाशाखाले बताएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी र एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। त्यसैगरी मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै भारी तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसम विज्ञान विभागले २४ घण्टामा ५० देखि १०० मिमिसम्मको वर्षालाई भारी, १०० देखि २०० मिमिसम्मलाई धेरै भारी र २०० मिमिभन्दा बढीको वर्षालाई अति भारी वर्षाका रूपमा वर्गीकरण गरेको छ। आगामी साता बंगालको खाडीबाट आउने प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीच अन्तरक्रिया हुने भएकाले वर्षाको मात्रा अझ बढ्न सक्ने मौसमविद्हरूको भनाइ छ।

सम्भावित भारी वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहेको छ। साना तथा ठूला नदी-नालामा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात र नदी क्षेत्रका निर्माण कार्य प्रभावित हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै हिमाली भू-भागमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहीहरूलाई समेत उच्च सतर्कता अपनाउन भनिएको छ।

यसैबीच, बंगालको खाडीमा बनेको यो प्रणाली चक्रवाती आँधीमा परिणत भएमा यसलाई ‘अर्नब’ नाम दिइने भएको छ। भारतीय मौसम विभागका अनुसार उक्त प्रणाली मंगलबारसम्ममा बलियो न्यूनचापीय क्षेत्रमा परिणत भई सेप्टेम्बर २३ को रातिदेखि २४ को बिहानसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ। यसको असरले भारतका ओडिशा, आन्ध्र प्रदेश, छत्तीसगढ, पश्चिम बंगाल तथा सिक्किम लगायतका क्षेत्रमा अत्यधिक भारी वर्षा र तीव्र गतिको हावाहुरी आउने अनुमान गरिएको छ। सम्भावित विपद्लाई ध्यानमा राख्दै भारतका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने माछा मार्ने डुंगा र जलयानहरूलाई समुद्रबाट किनारमा फर्किन निर्देशन दिइएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १० : २५ बजे