काठमाडौं । नेपाल तामाङ समाजले राजधानीको बसुन्धरास्थित यति इभेन्टमा ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
तामाङहरुको महान पर्व ल्होछार नजिकिदै गर्दा समाजले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
मंगलबार आयोजित कार्यक्रममा कानुन राज्यमन्त्री दिलमान पाख्रिन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह तामाङ, पूर्वमन्त्री पर्शुराम तामाङ, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ, ईन्द्रावती गाँउपालिकाका अध्यक्ष वंशलाल तामाङलगायत उपस्थित थिए ।
कार्यक्रममा कलाकारहरु रोज मोक्तान, रोशन फ्युबा, विशाल काल्तन, नायक अमिर दोङलगायत कलाकारले प्रस्तुति दिएका थिए ।
तामाङ समाजमा सहयोग र सेवाका लागि स्थापित संस्थाले पहिलोपटक यस्तो कार्यक्रम गरेको र कार्यक्रमबाट उठेको पैसा समाजसेवामा लगाउने समाजले जनाएको छ ।
वल्ड ट्रेल फाइन्डर एडभेन्चर प्रा. लि., सुमार्गी वचत तथा ऋण सहकारी संस्था लि, हिम्दुङ कन्ट्राक्सन प्रालि र जीवन प्रिन्टिङ प्रेसको प्रायोजनामा भएको कार्यक्रम समाजकी अध्यक्ष पेमा लामा तामाङको सभापतित्वमा सम्पन्न भयो ।