शुभप्रभात राई/जिरी
दोलखाको पर्यटकीय क्षेत्रको रुपमा परिचित जिरीमा शुक्रबारबाट नेपाल लाटोकोसेरो तथा हुचील महोत्सव सुरु भएको छ ।
प्रकृतिका साथीहरु र युवा सञ्जाल जिरीको संयुक्त आयोजना भएको महोत्सव जिरी नगरपालिकाका मेयर टंकबहादुर जिरेलले उद्घाटन गरे ।
महोत्सवमा जिरीका मेयर जिरेलले आफूहरु प्रकृतिप्रेमी रहेको र लाटोकोसेरो संरक्षणमा लागीपर्ने प्रतिबद्धता व्यक्त गरे ।
केही समययता भने जिरीमा लाटोकोसेरो कम देखिन थालेको चिन्ता व्यक्त गर्दै जिरेलले आफु यसबारे बुझेर चोरीशिकारी नियन्त्रणमा वचन दिए ।
कार्यक्रममा जिरेल, नेवारी, शेर्पालगायतका नाचहरु प्रस्तुत गरिएको थियो ।
किसानको साथी लाटोकोसेरोको दैनिक चोरी बढेकोले यसको संरक्षणका लागि महोत्सव गरिएको आयोजकले जनाएको छ ।
धादिङबाट सुरु गरिएको यस्तो उत्सव चितवन, नवलपरासी हुँदै यसपटक सातौं पटक आयोजना गरिएको हो ।
लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं भन्ने नाराका साथ सुरु भएको महोत्सव शनिबारसम्म चल्ने आयोजक प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।