काठमाडौं । गाईको मासु खान पाउनुपर्ने माग गरेको आरोप खेपिरहेकी प्रदेश ३ का उप-सभामुख एवं नुवाकोट प्रदेश सांसद राधिका तामाङले आफूमाथि राजनीतिक प्रहार भएको बताएकी छिन् ।
बिहीवार नेपाल तामाङ घेदुङको टोलीले मकवानपुर हेटौडा पदमपोखरीका ३ जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा गृहमन्त्री रामबहादुर थापालाई भेटेको घटनालाई जोडेर आफूमाथि प्रहार भएको उनले बताइन् ।
गाईको मासु खाएको आरोपमा प्रहरीले मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई पक्राउ गरेको थियो । तीनै जनालाई व्याक्तिगत रिसइबीका कारण थुनेको भन्दै उनीहरुलाई छाड्दिन ज्ञापनपत्र बुझाएको थियो घेदुङले ।
उनीहरु निर्दोष रहेको भन्दै घेदुङ टोली गृहमन्त्री थापालाई भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका रहेछन् । सोही समयमा नुवाकोटको डेलिगेसन टोलीसँगै म पनि पुल्चोक पुगेकी थिएँ, उप-सभामुख तामाङले भनिन् ।
त्यसको भोलिपल्ट अनलाइन र फेसबुकमा समाचार देखेर आफै छक्क परेको उप-सभामुख तामाङले बताइन् । त्यो दिन गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा घेदुङबाट महा-सचिवज्युले मात्र बोल्नुभएको हो । अरु कसैले बोलेकै छैन । बोल्दै नबोलेको कुरा आउँदा म त अचम्ममा परेँ, उनले भनिन् ।
मकवानपुरको घटना जोडेर नुवाकोटमा कांग्रेस कार्यकर्ता विरोधमा उत्रेकाले उनीविरुद्ध राजनीतिक प्रहार गरेको दावी गरिन् । सुरुमा त समाचार कसले लेख्यो भन्ने नै थाहा थिएन । अहिले नुवाकोटका कांग्रेसी आन्दोलनमा उत्रेको देख्दा राजनीतिक प्रतिशोध गरेजस्तो लागेको छ ।
मकवानपुरकालाई न्याय दिन डेलिगेसन गएको घटना जोडेर नुवाकोटमा किन विरोध भयोरु, उप-सभामुख तामाङले प्रश्न गर्दै भनिन्, चेली बेच्ने कांग्रेसी सुनबहादुर तामाङ पक्राउ गर्न म सक्रियरुपले लागेकी थिएँ । उनी कांग्रेसबाट वडाध्यक्षमा जितेका । पक्राउ नपर्दासम्म कांग्रेसका नेताहरुले सुनबहादुर निर्दोष भनेका थिए । अहिले जेल परे । यसैले मविरुद्ध प्रहार भयो ।
बोल्दै नबोलेको कुरा बाहिर आएकाले कानुनी प्रकियामा जाने तामाङले बताइन् । मेरो मुखबाट नबोलेको कुरा आएकाले म दुस्खी छु । अतिवादीहरु मेरा विरुद्ध लागेर सामाजिक सञ्जालमा मेरो फोटो जथाभावी सेयर गरिरहेका छन् । म अब कानुनी उपचार खोज्छु, उनले भनिन् ।