शुभप्रभात राई/ललितपुर
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावलाखेल मैदानमा प्रदर्शन गरियो ।
भोटो जात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कामु प्रधानन्यायाधीश दीपकराज जोशी र गृहमन्त्री रामबहादुर थापा जावलाखेल पुगे ।
भोटो जात्रा हेर्न मन्त्रिगण, संघीय संसद्का सांसद, प्रदेशसभा सदस्य, उच्चपदस्थ सरकारी कर्मचारी र सर्वसाधारणको जावलाखेलमा भीड लागेको थियो । भोटो रातो मच्छेन्द्रनाथ र राष्ट्रपति भण्डारीलाई देखाएपछि रथको चारै सुरबाट तीन÷तीन पटक उपस्थित सबैलाई देखाइएको गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले बताए ।
भोटो देखाइएसँगै रातो मच्छेन्द्रनाथको रथयात्रा पनि आजैदेखि सम्पन्न भएको छ । मच्छेन्द्रनाथको मूर्तिलाई आजै खटमा राखेर बुङ्मती लगिएको छ ।