१४ आश्विन २०८०, आइतबार | Mon Oct 2 2023

टिपिएस सुविधा अन्त्यको विरोधमा ट्रम्पविरुद्ध मुद्दा दायर


२९ माघ २०७५, मंगलबार  

0
Shares

फोटो: nbcnews.com/Joshua Roberts / Reuters file

न्युयोर्क । अमेरिकामा रहेका आप्रवासी नेपालीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मुद्दा दायर गरेका छन् । राष्ट्रपति ट्रम्पले अन्तरसीमा अपराध रोक्न यो कदम चालिएको बताए पनि अमेरिकामा रहेका नेपाली आप्रवासीले निर्णय विरुद्ध मुद्दा दायर गरेका हुन्।

हालै ट्रम्प प्रशासनले ‘टेम्प्रोररी प्रोटेक्टेड स्टयाटस’ (टिपिएस) अन्त्य गर्ने निर्णय गरेको थियो । आइतबार त्यहाँ रहेका होन्डुरस र नेपाली आप्रवासीहरुले आफूहरुलाई विभेदपूर्ण तवरले अमेरिकामा काम गर्न र बस्न दिने कार्यक्रमको अन्त्य गर्ने निर्णय गरेको आरोप लगाउँदै सान फ्रान्सिस्को स्थित संघीय अदालतमा मुद्दा दर्ता गराएको एनबिसि न्युजले जनाएको छ ।

दर्ता गरिएको मुद्दामा टिपिएस अन्त्यको निर्णय ‘रंगभेदी’ विचारबाट अभिप्रेरित भएको आरोप लगाइएको छ ।

मुद्दा अमेरिकामा रहेका ६ आप्रवासी र दुई अमेरिकामा जन्मिएका उनीहरुका सन्तानको नाममा दर्ता भएको छ । मुद्दामा ट्रम्प प्रशासनले आफ्नो देशको अवस्थाको मुल्यांकन गलत तरिकाले गरिएको आरोप लगाएका छन् ।

‘हामीले प्रमाण दिन सक्छौँ की कसरी ट्रम्प प्रशासनले तीब्र रुपमा अश्वेत तथा गैर युरोपेली आप्रवासीलाई अस्विकार गरिरहेको छ । र टिपिएस कार्यक्रम अन्त्य गर्ने निर्णय अश्वेत तथा गैर युरोपेली आप्रवासीलाई अमेरिकाबाट निकाल्ने उद्देश्यले प्रेरित छ,’ लस एन्जलसस्थित एसियन अमेरिकन एड्भान्सिङ जस्टिसकी अधिवक्ता मिन्जु चोले भनेकी छन् ।

यो कार्यक्रमबाट अन्त्य गर्ने निर्णयले क्यालिफोर्निया, मिन्नेसोटा, मेरिल्याण्ड, भर्जिनिया र कनेक्टिकटका आप्रवासी प्रभावित हुने छन् ।

यो मुद्दा ट्रम्प प्रशासनको टिपीएस खारेज गर्ने निर्णयविरुद्ध दायर भएको पछिल्लो मुद्दा हो । यो निर्णय केही देशका नागरिकहरुलाई अमेरिकामा कानुनसम्वत तरिकाले बस्ने र काम गर्ने अधिकार वर्षौँ देखि दिएको थियो।

गत वर्ष सान फ्रान्सिस्को स्थित अदालतका न्यायाधीशसले अल साल्भाडोर, हाइटी, निकारागुवा र सुडानका आप्रवासीलाई दिइँदै आएको टिपीएस अन्त्य गर्ने निर्णयलाई अल्पकालिन रुपमा रोक लगाउने निर्णय सुनाएका थिए ।

ट्रम्प प्रशासनले दुई वर्ष देखि वर्षदेखि टिपिएस अन्त्यका लागि काम अगाडि बढाउँदै आएको छ । उसले टिपिएस पाएका १० देश मध्ये ६ वटा देशहरु एल साल्भाडोर, हाइटी, नेपाल, होण्डुरस, सुडान र निकारागुवाका आप्रवासीलाई दिइँदै आएको यो सुविधा अन्त्य गर्ने निर्णय गरेको थियो। यी ६ देशहरुले टिपिएस सुविधा लिएकाहरु मध्ये ९८ प्रतिशत हिस्सा ओगट्छन्। जसको उनीहरुको संख्या तीन लाख १८ हजारको हाराहारीमा छ।

ट्रम्प प्रशासनले यो व्यवस्था नेपाल र होन्डुरसका लागि अन्त्य गर्ने घोषणा गत वर्ष गरेको थियो । नेपालमा २०७२ सालमा गएको विनासकारी भूकम्प पछि १५ हजार आप्रवासीहरुले यो सुविधा लिएका छन् ।

त्यस्तै होण्डुरसमा सन् १९९८ मा गएको विनासकारी कुरिकन पनि उनीहरुका लागि यो व्यवस्था गरिएको थियो । त्यस यता ८६ हजार होण्डुरसका नागरिकले अमेरिकामा यो सुविधा लिएका छन् ।

यो सुविधा लिएकाबाट ५० हजार सन्तान अमेरिकामै जन्मिएका छन् । टीपीएस अन्त्यसँगै उनीहरु पनि प्रभावित हुने छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ३ : ४८ बजे