ङिमा पाख्रिन/न्युयोर्क
अमेरिकाको न्युयोर्कमा नेपाली पर्यटन प्रवर्धन गर्न कन्फेेेेरेन्स आयोजना गरिएको छ । जुलाई १५ आयोजित चौथो नेप्लिज अमेरिकन फेस्टिभल कन्फेरेन्समा नेपालीका साथमा अमेरिकी नागरिक र विभिन्न देशका कूटनीतिज्ञाहरुको उपस्थिति रहेको थियो ।
कन्सुलेट जेनेरल अफ नेपाल, न्युयोर्क, नेपाल पर्यटन बोर्ड र नेप्लिज अमेरिकन फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘नेपाल्स टुरिज्म, आर्ट एन्ड कल्चर’ कन्फ्रेन्समा नेपालको पर्यटनसम्बन्धी प्रस्तुति, प्यानल डिस्कसन र साँस्कृतिक नाच प्रस्तुत गरिएको थियो ।
भिजिट नेपाल २०२० लाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा नेपालबाट शिक्षामन्त्री गिरिराजमणि पोखरेल प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षमन्त्री पोखरेलले नेपाल बुद्धको जन्मभूमि र सगरमाथाको भूमि भएको बताए । पोखरेलले भने, ‘नेपाल बुद्धको जन्मभूमि हो र सगरमाथाको देश भएको हो । हाम्रो देश विविधतायुक्त देश पनि हो । त्यसैले नेपाल घुम्न सबैलाई निम्तो दिन्छु ।’
मन्त्री पोखरेलले नेपाल प्राकृतिक रुपमा मात्र नभई सांस्कृतिक रुपमासमेत धनी रहेको उल्लेख गरे । भने, ‘जंगल र हिमालले भरिपूर्ण नेपाल संस्कृतिमा पनि उत्तिकै धनी छ । यहाँ साहासिक पदयात्रा, जंगल सफारी, बन्जी जम्प, प्याराग्लाइडिङ पनि छन् । हाम्रो त अतिथि देवो भवः भन्ने संस्कृति हो ।’
मन्त्री पोखरेलले नेपाल यात्रा एक पटक मात्रमा नअघाउने समेत बताए । पर्यटकीय क्षेत्रमा सुधार गर्दै लैजाने वचन दिँदै पोखरेलले भने, ‘पर्यटकलाई सुविधा दिने विषयमा सरकारले ध्यान दिने छ । नेपालका विमानस्थल र होटलहरु अपग्रेड हुँदै आएको छ । भिजिट नेपाल, वान्स इज नट इनफ।’
नेपालको पर्यटन, कला र संस्कृतिलाई प्रवर्धन गर्न आयोजित कार्यक्रम नेपाली राष्ट्रगान तथा अमेरिकी राष्ट्रगानबाट कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा महावाणिज्यदूत पुष्पराज भट्टराईले सबैलाई स्वागत गर्दै भिजिट नेपाल २०२० बारे जानकारी दिए । उनले नेपालको यस पर्वमा सबैलाई घुम्नसमेत निम्तो दिए । भट्टराईले भने, ‘भिजिट नेपाल कार्यक्रमबारे जानकारी दिन पनि यो कार्यक्रम आयोजना गरिएको हो । यसै कार्यक्रम मार्फत सबैलाई नेपाल भ्रमणको निम्तो छ ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, संयुक्त राष्ट्र संघका लागि न्युयोर्क प्रतिनिधि अमृत राईलगायतको उपस्थिति रहेको थियो ।
नेपालको पर्यटन क्षेत्रबारे भने दीवाकर विक्रम राणाले पावर प्वाइन्ट प्रस्तुति दिए । नेपाल टुरिज्म बोर्ड नर्थ अमेरिकाका मेनेजर रहेका राणाले नेपालको पर्यटनको क्षेत्रबारे प्रस्तुति दिएका हुन् । उनले नेपाल साँच्चिकै पर्यटन हब भएको उल्लेख गर्दै घुम्न पर्ने धेरै ठाउँ भएको उल्लेख गरे । नेपालका पर्यटन क्षेत्रका विविध आयामबारे चर्चा गर्दै राणाले नेपालको पर्यटन क्षेत्र बलियो र विकसित भइसकेको बताए ।
त्यसैगरी हवार्ड विश्वविद्यालयका प्रोफेसर माइकल विट्जेलले पनि नेपालको पर्यटन क्षेत्रबारे फोटो स्लाइडमार्फत प्रस्तुति दिए । उनले ‘नेपालको संस्कृति र पर्यटन’ विषयमा प्रस्तुति दिएका थिए । आफूले नेपाल भ्रमण गरेका समयका फोटोहरु सहित उनले आफ्नो नेपाल भ्रमणबारे सुनाएका थिए । विट्चलले आफ्नो प्रस्तुतिमा नेपालको हिमाललाई विशेष स्थान दिए । काठमाडौबाट देखिने हिमालको तस्विर देखाउँदै काठमाडौंको सुन्दरता बताएका उनले पोखराबाट देखिने हिमाल, लालीगुराँसको चर्चा गर्न पनि पछि परेनन् । प्रकृतिसँग जनजातिबारे जानकारी दिँदै उनले नेपालको दैनिकी पनि तस्विरमा उतारेका थिए । नेपालमा देखिका झाँक्रीलाई धार्मिक अवस्थालाई पनि उनले आफ्नो प्रस्तुतिमा समेटेका थिए ।
त्यसो त उनले आफ्नो फोटा स्लाइडमा विकासमा पछि पर्दा भोग्नु परेको समस्यालाई पनि उतारेका रहेछन् । फोटो स्लाइटमा तुइन, मनाङदेखि विरामीको उपचारका लागि ल्याउँदै गरेको र काठमाडौंको ट्राफिक जामका तस्विर देखाइए ।
नेप्लिज अमेरिकन फाउन्डेसनका अध्यक्ष अमित शाहको संयोजनमा भएको प्यानल डिस्कसनमा महावाणिज्यदूत पुष्पराज भट्टराई, लग्जरी ट्राभलका कोफाउन्डर क्रिस्टिना हेल्ड, पाटा न्युुयोर्क च्याप्टरका अध्यक्ष एलिजावेथ चिन, हर्भर्ड विश्वविद्यालयका साँस्कृत प्राध्यापक माइकल विट्जेल, मेट्रोपोलिटन म्युजियम न्युयोर्कका क्युरेटर जोहन कर्पेन्टर र नेपाल पर्यटन बोर्ड उत्तर अमेरिकी प्रबन्धक दीवाकर बिक्रम राणा रहेका थिए ।