५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन, दुई दिनमा ६ हजार बढी वडामा अधिवेशन सम्पन्न



नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत शनिबार र आइतबार (असोज ३ र ४ गते) दुई दिनमा देशका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति गठन तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकिएको छ। अधिकांश वडाहरूमा सर्वसम्मत रूपमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन गरिएको पार्टी नेताहरूले बताएका छन्।

ताप्लेजुङ, इलाम, झापा, काठमाडौँ, कास्की, कैलालीसहितका ७३ जिल्लाका बहुसंख्यक वडाहरूमा अधिवेशन सम्पन्न भएको छ। यद्यपि, बाढीबाट प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङ जिल्ला तथा सप्तरी (क्षेत्र नं. २ र ४), सिराहा, मोरङ (क्षेत्र नं. ६), रौतहट (क्षेत्र नं. १), सर्लाही (क्षेत्र नं. २) र नवलपरासी पश्चिम/परासी (क्षेत्र नं. २) मा अधिवेशन हुन बाँकी छ। शनिबार र आइतबार रोकिएका वा बाँकी रहेका वडाहरूमा असोज ५ गते सोमबार अधिवेशन निरन्तर रहने निर्वाचन समितिले जनाएको छ।

यस पटकको वडा अधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने सहभागी भएको छैन। देउवा पक्षले आगामी असोज १५ गते अलग रूपमा वडा अधिवेशन गर्ने तयारी गरेको छ।

वडा अधिवेशन सम्पन्न भएसँगै क्रमशः गाउँ/नगर, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला अधिवेशन गर्दै नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा १५ औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ११ : ४६ बजे