४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

नेपालमा आगामी साता भारी वर्षाको सम्भावना, मौसमविद्द्वारा सतर्क रहन आग्रह



उत्तर अन्डमन सागर र आसपासका क्षेत्रमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर-पश्चिम दिशातिर सर्नेक्रममा रहेकाले नेपालमा आगामी साता भारी वर्षाको सम्भावना बढेको छ। आगामी ८ देखि १२ असोजसम्म बंगालको खाडीबाट विकसित प्रणालीको प्रभाव बढ्ने र त्यसको पश्चिमी वायुमण्डलीय प्रणालीसँग अन्तरक्रिया हुने सम्भावना रहेकाले मौसमविद्हरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। यी दुई प्रणालीबीचको अन्तरक्रियाका कारण नेपालतर्फ प्रचुर जलवाष्प भित्रिएर विभिन्न भूभागमा ठूलो वर्षा हुन सक्ने आकलन गरिएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार अन्डमन सागर आसपासमा न्यूनचापीय प्रणाली बनिरहेकाले बंगालको खाडीमा मौसमी गतिविधि बढ्ने र मनसुनी आद्रता नेपालतर्फ सोझिने देखिएको छ। हाल जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।

त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडलहरू अध्ययन गर्दा ४०० देखि ७४१ मिलिमिटरसम्मको अत्यधिक वर्षा हुन सक्ने संकेत देखिएको र यसले गम्भीर अवस्था निम्त्याउन सक्ने भन्दै सजग रहन सामाजिक सञ्जालमार्फत सचेत गराएका छन्। अर्कातर्फ, मौसमविद् रोजन लामिछानेले भने यो प्रणाली दैनिक रूपमा परिवर्तन भइरहने र चक्रवातका रूपमा विकास हुने वा नहुनेबारे यकिन नभएकाले वर्षाको सटीक मात्रा अहिले नै ठोकुवा गर्न नसकिने बताएका छन्। यद्यपि, मनसुन कायमै रहेको र विगतमा पनि यस याममा भारी वर्षाले क्षति पुर्‍याएको अनुभवलाई ध्यानमा राख्दै सम्भावित जोखिमबाट बच्न सबैलाई पूर्वतयारी र सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ११ : ५३ बजे