आदिवाशी जनजाती महासंघ अमेरिका न्युहेम्प्शायर च्याप्टरले विविध कार्यक्रमको साथ विश्व आदिवाशी दिवस मनायो । बिभिन्न आदिवाशी जनजातीहरुको मौलिक पहिचान झल्कने नाच, भेष भुषा सहितको कार्यक्रमको साथ दिवस मनाएको थियो । न्युहेम्प्शायर च्याप्टरको अध्यक्ष सुन्दरी गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा संयुक्त रास्ट्र संघका लागी नेपालको स्थायी प्रतिनिधी तथा राजदुत अमृत राई उपस्थित थिए । कार्यक्रममा राजदुत राईले अबको भावी नेपाली अमेरीकन पुस्ताले अमेरीकाको मुलधारको राजनीतीमा ध्यान दिनु पर्ने बताएका थिए । सात समुन्द्र वारी,सपनाको देशमा आएर पनि नेपालीपन बचाउनु भूमिका खेलेकोमा न्युहृम्सायर प्रति धन्यवाद दिएका थिए ।
त्यस्तै मिचीगण युनिभर्सिटीका प्रोफेसर डा.महेन्द्र लावतीले बिश्वभरिका आदिवाशीको समस्या उस्तै रहेकोले संयुक्त रास्ट्र संघले अगस्त ९ लाई विश्व आदिवाशी दिवश घोषणा गरेकोले नेपाल सरकार यसको सदस्य रास्ट्र भएर पनि आदिवाशीहरुको अधिकार प्रति वेवास्ता गरेको उदाहरण अहिलेको लोकसेवा आयोग काण्ड भएको बताएका थिए । त्यस्तै एनआरएन अमेरिकाका बोर्ड मेम्बर छत्रा गुरुङ,एन आर एन अमेरिकाका पुर्व सभापति शिव कुमार राई, नेपाली कम्युनिटी रोड आइसल्याण्डका सभापती उत्सब श्रेष्ठले समेत आदीवासी दिवसको शुभकामना मन्तव्य दिएका थिए ।
स्थानीय जेष्ठा नागरिकद्धारा सामुहिक रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा नेपाल र अमेरिकाको रास्टि्रय गान बजाइएको थियो । कार्यक्रम नेपालका विभिन्न आदिवाशी समुदायहरुको पहिचान झल्कने झाँकीहरु र नेपाली नाचगानले कार्यक्रमलाई भव्यता बनाएको थियो । कार्यक्रममा सभापति सुन्दरी गुरुङले आदीवासी दिवसमा सहयोग पुर्याउनेहरु र उपस्थित सवैलाई धन्यवाद दिएका थिए ।
सुरेश चाम्लिङ्ग , न्युहेम्प्शायरबाट