काठमाडाैं– बुधबार साँझबाट फेरि पश्चिमी वायु नेपाल पस्ने भएको छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानमा भारी हिमपातको सम्भावना छ,’ मंगलबार साँझ विशेष बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ ‘ मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र सोही भु-भागका १-२ स्थानहरुमा भारी वर्षाको सम्भावना समेत छ।’
देशको पूर्वी भु-भागमा बिहिबार आंशिकदेखि सामान्य बदली भई १-२ स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महशाखाले जनाएको छ।
बुधबार दिउँसो देशको पहाडी भू भागमा आंशिक बदली भई अन्य भेगमा मौसम सामान्यतया सफा रहने छ। राति पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भेगमा आंशिक बदली को अवस्था रहने छ । पश्चिमी भू भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ।
बिहिबार दिउँसो देशका पश्चिमी भू भागमा सामान्य बदली भई अन्य भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी भू भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राति देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षासँगै उच्च पहाडी भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।