१४ आश्विन २०८०, आइतबार | Mon Oct 2 2023

लाङटाङमा हराएका दुई विद्यार्थीको शव ११ दिनपछि भेटियो



नुवाकोट — लाङटाङ राष्ट्रिय निकुञ्जमा हराएका दुई विद्यार्थीको शव ११ दिन पछि फेला परेको छ ।

काठमाडौ गोकर्णेश्वर नगरपालिका–७ का १९ वर्षीय जापान तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ का १७ वर्षीय वाङगेल शेर्पाको शव गोसाइकुण्ड पदयात्राको बाटोमा पर्ने फेदीभन्दा ३ किलोमिटर तल फेला परेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले जानकारी दिए ।

तामाङले तादी गाउँपालिकाका–१ उर्लेनीका खोज तथा उद्धार गाईड लालबहादुर तामाङ नेतृत्वको ६ जनाको टोलीले शव फेला परेको बताए । ‘दुवै शव हिउले पुरेको अवस्थामा एकै ठाँउमा फेला पर्‍यो,’ उनले भने ।

दुप्चेश्वर गाउँपालिकाले ती विद्यार्थीको खोजी गर्न लाइसन्स प्राप्त गाइड परिचालन गरेको थियो ।

मृतक दुवै जना बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन् । उनीहरु सिन्धुपाल्चोकको हेलम्बु र नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबीचको हिउँ पर्ने क्षेत्रबाट हराएका थिए ।

उनीहरुको खोजीका लागि नुवाकोट प्रशासनबाट सुरक्षा निकाय र रसुवा प्रशासनबाट हेलिकोप्टर परिचालन गरिएको थियो ।

दुप्चेश्वर गाउँपालिकाले जिवित वा मृत जस्तो अवस्थामा भेट्टाए पनि १ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ५ : २२ बजे