अमेरिका । संयुक्त राज्य अमेरिकामा दुई जना नेपाली नागरिक हराएको आशंकापछि खोजी कार्यलाई तीव्र बनाउन नेपाली राजदूतावास वासिङ्टन डी.सी.ले सहयोगका लागि अपिल गरेको छ ।
दूतावासले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूको बारेमा कुनै जानकारी भए तत्काल उपलब्ध गराउन अमेरिकीस्थित नेपाली समुदाय र संघसंस्थालाई आग्रह गरेको हो ।
हराइरहेका व्यक्तिमध्ये पहिलो पवन गौरे रहेका छन् । २९ वर्षीय गौरेको उचाइ ५ फिट ८ इन्च रहेको जनाइएको छ । उनी अध्ययनका लागि नेब्रास्का पुगेका थिए र यूनिभर्सिटी अफ नेब्रास्क–लिंकनमा इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा सन् २०२५ मा अध्ययन पूरा गरेका थिए । दूतावासका अनुसार उनी मार्च २०२६ देखि नेब्रास्काबाट फ्लोरिडा यात्रा गर्ने क्रममा सम्पर्कविहीन भएका हुन् ।
मार्च २७, २०२६ मा फ्लोरिडाको पेन्साकोला बीचमा उनको गाडी भेटिएको जानकारी दिइएको छ । उनको खोजीका लागि लिंकन प्रहरी र नेब्रास्क मिसिङ पर्सन्स क्लियरिङहाउससँग समन्वय भइरहेको उल्लेख छ ।
त्यस्तै, दोस्रो हराइरहेका व्यक्ति विकास न्यौपाने हुन् । २६ वर्षीय न्यौपाने टेक्सास राज्यको आर्लिङ्टनमा अन्तिम पटक देखिएका थिए । उनले यूनिभर्सिटी अफ टेक्सस. अर्लिङटनमा अध्ययन गरेका थिए । उनी करिब दुई वर्षदेखि सम्पर्कविहीन रहेको जनाइएको छ । उनको परिवारले समेत खोजीका लागि अपिल गर्दै सम्पर्क विवरण सार्वजनिक गरेको छ ।
नेपाली राजदूतावासले यी दुवै घटनामा निरन्तर समन्वय गरिरहेको जनाएको छ । साथै, सम्बन्धित व्यक्तिहरूको अवस्थाबारे कुनै जानकारी भए नजिकको प्रहरी निकाय वा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
दूतावासले अमेरिकामा रहेका नेपाली संघसंस्था, डायस्पोरा तथा सर्वसाधारणलाई खोजी कार्यमा सहयोग गर्न आह्वान गर्दै यस्ता घटनामा सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ ।
दूतावास सम्पर्क विवरण:
फोन: 202-774-4780 / 202-480-6858
इमेल: info@nepalembassyusa.org, consular@nepalembassyusa.org










