काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिकन टोली नेपाल आइपुगेको छ ।
बुधबारदेखि कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा हुने सिरिजमा घरेलु टोली नेपालसहित अमेरिका र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।
अमेरिकन टोली भारतको मुम्बईमा प्रशिक्षण र ३ दिन अभ्यास खेल खेलेर नेपाल आइपुगेको छ । माघ २२ देखि २९ गतेसम्म हुने सिरिजमा तीन टोलीबीच एकापसमा दुई–दुई खेल हुनेछन् ।
अमेरिकी क्रिकेट टिम एक दशकपछि नेपाल आएको हो । सन् २०१० मा नेपालमै भएको डिभिजन ५ मा खेल्न अमेरिका पछिल्लो पटक काठमाडौं आएको थियो। डिभिजन ५ को फाइनलमा नेपालले अमेरिकालाई हराएर उपाधि जितेको थियो ।
सन् २०२३ को ओडिआई विश्वकपको रोडम्यापको रूपमा समेत रहेको यस विश्वकप लिग २ मा नेपालले पहिलो सिरिज खेल्न लागेको हो । यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ । अर्को टोली ओमान ८ अंकसहित चौथो स्थानमा छ । नेपालले खाता खोल्न बाँकी छ ।
सन् २०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएपछि नेपालले घरेलु मैदानमा ओडीआई सिरिज खेल्न लागेको यो पहिलो पटक हो । समग्रमा भने नेपालको यो तेस्रो ओडीआई सिरिज हुनेछ ।