विवादकै बीच काँग्रेसको केन्द्रीय विभागलाई पूर्णता (नामावलीसहित)

२०७७ श्रावण २६, सोमबार १३:११

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् । नेता रामचन्द्र पौडेल पक्षको विरोधका बावजुध उनले मनोनयन गरेका हुन् ।

उनले संगठन विभाग प्रमुखमा गोपालमान श्रेष्ठ, सचिवमा विनकुमार विश्वकर्मा र सदस्यमा अन्य ४० जनालाई सदस्यमा मनोनयन गरेका छन् ।
त्यसैगरी हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग प्रमुख, फरमूल्लाह मंसुरलाई मुस्लिम विभाग प्रमुख, अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग प्रमुख मनोनयन गरेका छन् ।

त्यस्तै रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत् व्यवस्थापन विभाग, आनन्दप्रसाद ढुङ्गानालाई वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग, शङ्कर भण्डारीलाई, तरुण विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभागको प्रमुख तोकिएको छ ।

काँग्रेसको विधानको दफा ३७ मा केन्द्रीय विभागसम्बन्धी व्यवस्था गरिएको छ । विधानमा २८ विभाग रहने व्यवस्था भए पनि विधानकै अधिकार प्रयोग गरी काँग्रेस केन्द्रीय कार्यसमितिको गत पुस ११ गतेको बैठकले महासमिति वा महाधिवेशनबाट अनुमोदन गराउने गरी विभागको सङ्ख्या बढाएर ४७ पुर्‍याउने निर्णय गरेको थियो । विधानबमोजिम प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने र केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन काँग्रेसको क्रियाशील सदस्य हुनुपर्छ ।

पौडेल समुहले भने १३ औँ महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभाग अहिले चौधौँ महाधिवेशनको कार्यतालिका अघि बढिसकेपछि निर्वाचन आचारसंहिता विपरीत गठन गरिएको भन्दै काँग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म भएको थियो ।

सम्बन्धित समाचार