११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

शिन्ता मणि मुस्ताङ विश्वकै नम्बर १ विलासी होटल



अन्तर्राष्ट्रिय विलासी जीवनशैली म्यागेजिन रोब रिपोर्टले नेपालको शिन्ता मणि मुस्ताङलाई आफ्नो प्रतिष्ठित सूची ‘द ५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ मा विश्वकै नम्बर १ लक्जरी होटल घोषणा गरेको छ । फ्रान्स, जापान र रुवान्डाजस्ता देशका ख्यातिप्राप्त रिसोर्टलाई पछि पार्दै मुस्ताङको यो रिसोर्ट शीर्ष स्थानमा पुग्नु नेपालको पर्यटन क्षेत्रका लागि ऐतिहासिक सफलता हो ।

यो उपलब्धि केवल महँगो सुविधा वा सुन्दर भवनको परिणाम होइन । विशेषज्ञ मूल्यांकन, मौलिक डिजाइन, पाँच रातको गहिरो विश्राम अवधारणा, स्थानीय संस्कृति र साहसिक अनुभव, परम्परागत उपचार तथा रैथाने आतिथ्यको संयोजनले शिन्ता मणि मुस्ताङलाई विश्वकै सर्वोत्कृष्ट विलासी होटल बनाएको हो ।

२४ जना ट्राभल मास्टर्सको कडा मूल्यांकन

रोब रिपोर्टको सूची तयार गर्न विश्वका प्रतिष्ठित विलासी यात्रा सल्लाहकार र विशेषज्ञमध्ये २४ जना ट्राभल मास्टर्स सहभागी थिए । उनीहरूले होटलको स्थान, प्राकृतिक परिवेश, आतिथ्य सेवा, व्यवस्थापन, गोपनीयता, डिजाइन र पाहुनालाई दिइने अनौठो अनुभवको मिहिन मूल्यांकन गरेका थिए ।

शिन्ता मणि मुस्ताङ अचानक नम्बर १ भएको होइन । सन् २०२३ मा सञ्चालनमा आएदेखि नै यो रिसोर्ट अन्तर्राष्ट्रिय पर्यटन बजारमा चर्चामा थियो । सन् २०२४ मा ‘बेस्ट अफ द बेस्ट’ सूचीमा परेको रिसोर्टले २०२५ मा ‘बेस्ट लक्जरी एड्भेन्चर होटल’ को मान्यता पायो र २०२६ मा विश्वकै शीर्ष होटल बन्न सफल भयो ।

बिल बेन्स्लीको ‘कल्पनाको दरबार’ डिजाइन

रोब रिपोर्टले शिन्ता मणि मुस्ताङलाई विलासी वास्तुकलाका जादूगर बिल बेन्स्ली को ‘प्यालेस अफ फ्यान्टासी’ (कल्पनाको दरबार) भनेर प्रशंसा गरेको छ । नेपालको बागलुङकै रैथाने ढुंगा र परम्परागत वास्तुकला प्रयोग गरी बनाइएको रिसोर्टमा २९ वटा सुइट कोठा छन् ।

रिसोर्टको डिजाइन यस्तो छ कि प्रत्येक कोठाबाट नजिकैका हिमाल र कालीगण्डकी उपत्यकाको मनमोहक दृश्य देखिन्छ । प्राकृतिक परिवेशसँग मेल खाने निर्माण शैली, स्थानीय सामग्रीको प्रयोग र आधुनिक विलासिताको सन्तुलनले यसलाई अन्य होटलभन्दा फरक बनाएको छ ।

पाँच रातको विश्राम र ‘अल–इन्क्लुसिभ’ अनुभव

शिन्ता मणि मुस्ताङमा कम्तीमा पाँच रात बस्नुपर्ने नियम छ । यसले पाहुनालाई हतारमा घुमेर फर्कनेभन्दा पनि मुस्ताङको शान्त वातावरणमा समय बिताउँदै शरीर, मन र आत्मालाई पूर्ण रूपमा पुनर्जीवित गर्ने अवसर दिन्छ ।

यहाँको सेवा अल–इन्क्लुसिभ अवधारणामा आधारित छ । कोठा, खाना, निजी गाइड, यातायात वा हेलिकप्टर व्यवस्थापन तथा वेलनेस थेरापीजस्ता सुविधा प्याकेजमै समावेश हुन्छन् । यसले पाहुनालाई यात्रा व्यवस्थापनको झन्झटबाट मुक्त गर्दै सम्पूर्ण अनुभवमा केन्द्रित हुन मद्दत गर्छ ।

यस होटलको सेवा लिनका लागि एक जोडीलाई एक रातको २५ सय अमेरिकी डलरसम्म पर्दछ भने पाँच रातको प्याकेजको लागि नेपाली रुपैयाँ करिब १३ देखि १५ लाख पर्ने बताइएको छ । यद्यपी नेपाली जोडीलाई बिशेष अफरका साथ १ लाख ५० हजार रुपैयाँ प्रतिरात पर्दछ ।

मुस्ताङको संस्कृति र साहसिक अनुभवसँग साक्षत्कार

यो रिसोर्टले पाहुनालाई विलासी कोठामा मात्र सीमित राख्दैन । बरु मुस्ताङको इतिहास, संस्कृति, प्रकृति र स्थानीय जीवनशैलीसँग प्रत्यक्ष जोड्ने प्रयास गर्छ ।

पाहुनाले करिब ८०० वर्ष पुरानो बोन बौद्ध गाउँ लुब्रा भ्रमण गर्न सक्छन् । गुम्बा, स्थानीय बस्ती र बोन बौद्ध परम्पराको अवलोकनसँगै धनुषबाण, घोडचढी र हिमाली पदयात्राजस्ता गतिविधि पनि उपलब्ध छन् । यसरी विलासिता र साहसिक पर्यटनलाई एउटै अनुभवमा जोडिएको छ ।

परम्परागत अम्ची उपचार र वेलनेस

रिसोर्टमै रहेका परम्परागत तिब्बती अम्ची चिकित्सकबाट सोरिग उपचार तथा वेलनेस थेरापी लिन सकिन्छ । स्थानीय जडीबुटी, परम्परागत ज्ञान र हिमाली उपचार पद्धतिमा आधारित यो सेवा रिसोर्टको विशेष आकर्षण हो ।

विश्वका धेरै लक्जरी होटलले स्पा र आधुनिक वेलनेस सेवा दिन्छन् । तर शिन्ता मणि मुस्ताङले मुस्ताङको सांस्कृतिक सम्पदासँग जोडिएको परम्परागत उपचारलाई अनुभवको हिस्सा बनाएको छ । यही मौलिकताले यसलाई फरक पहिचान दिएको छ ।

रैथाने स्वाद र शेर्पा हस्पिटालिटीको सत्कार

रिसोर्टको निलगिरी रेस्टुरेन्टमा स्थानीय फार्मबाट ल्याइएका अर्गानिक सामग्री प्रयोग गरी हिमाली परिकार पस्किने गरिन्छ । याकको मोमो, तिब्बती थुक्पा तथा स्थानीय स्वाद झल्काउने अन्य परिकारले पाहुनालाई मुस्ताङको खानपान संस्कृतिसँग परिचित गराउँछन् ।

नेपालको शेर्पा हस्पिटालिटी ग्रुप द्वारा सञ्चालित रिसोर्टले उत्कृष्ट रैथाने सत्कार, स्थानीय समुदायको सहभागिता र दिगो पर्यटनलाई प्राथमिकता दिएको छ । स्थानीय संस्कृति र प्राकृतिक सम्पदाको सम्मान गर्दै पर्यटन विकास गर्ने यही नीति पनि यसको विश्वव्यापी सफलताको महत्वपूर्ण आधार बनेको छ ।

पूर्ण रुपमा नेपाली व्यवस्थापन

नेपालमा राम्रो होटलको लागि विदेशी व्यवस्थापन ल्याउने होड चलेको भएपनि शिन्ता मणि मुस्ताङ पूर्ण रूपमा नेपालीहरूको लगानी, व्यवस्थापन र सञ्चालनमा रहेको विलासी रिसोर्ट हो । यो रिसोर्टलाई अन्तर्राष्ट्रिय लक्जरी ब्रान्ड शिन्ता मणि होटलसँगको साझेदारीमा नयाँ स्वरूप दिइएको भए पनि दैनिक सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहको सम्पूर्ण जिम्मेवारी शेर्पा हस्पिटालिटी ग्रुपको हातमा छ । शिन्ता मणि अन्तर्राष्ट्रिय ब्रान्ड साझेदारका रूपमा मात्र जोडिएको छ ।

यसको नेतृत्व नेपाली युवा उद्यमी नाम्ग्याल शेर्पाले गरेका छन् । यसले सामाजिक उत्तरदायित्वअन्तर्गत पासाङ ल्हामु फाउन्डेसनमार्फत मुस्ताङका स्थानीय महिला सशक्तीकरण र शिक्षामा समेत योगदान पुर्‍याउँदै आएको छ ।

नेपाललाई विलासी पर्यटनको विश्व नक्सामा स्थापित गर्ने सफलता

शिन्ता मणि मुस्ताङको नम्बर १ स्थान केवल एउटा होटलको सफलता मात्र होइन । यसले नेपाललाई उच्चस्तरीय विलासी पर्यटनको विश्व नक्सामा स्थापित गरेको छ । सगरमाथा र पदयात्राका लागि परिचित नेपाल अब मौलिक संस्कृति, हिमाली प्रकृति, निजी अनुभव र उत्कृष्ट आतिथ्यसहितको लक्जरी गन्तव्यका रूपमा पनि विश्वसामु उभिएको छ ।

प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, परम्परागत उपचार, साहसिक गतिविधि, उत्कृष्ट डिजाइन र न्यानो नेपाली आतिथ्यको संयोजनले शिन्ता मणि मुस्ताङलाई विश्वकै नम्बर १ विलासी होटल बनाएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : ०४ बजे