३१ असार २०८१, आइतबार | Sun Jul 14 2024

माओवादी अध्यक्ष दाहाल तेस्रो पटक प्रधानमन्त्री नियुक्त, सोमबार ४ बजे शपथग्रहण गराउने तयारी



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबारसाँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएरप्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

प्रधानमन्त्री बनेका दाहालले सोमबार ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छन्। दाहाल यसअघि २०६५ र २०७३ मा ९/९महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्रीका लागि दाहाललाई सात दल र तीन तीन स्वतन्त्रसहित १६९ सांसदको समर्थन प्राप्त भएको छ । राष्ट्रपतिसमक्ष एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थन रहेको पत्रदाहालले बुझाएका छन् ।

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् ।

जसअनुसार दाहालले नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर दाहाल शीतलनिवास पुगेका थिए । शीतल निवासमा सबै दलका अध्यक्षहरु पुगेका थिए । शीतल निवासमा एमाले अध्यक्ष केपी ओली, रास्वपाकाअध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरू पनि पुगेकाथिए । यसवाहेक स्वतन्त्र सांसद अमरेश सिंह प्रभु साह पनि शीतल निवासमा पुगेका थिए ।

नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन सहमति नजुटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार दिउँसो नै एमाले अध्यक्षओलीको निवास बालकोट पुगेर आफू प्रधानमन्त्री बन्न नयाँ सहमति जुटाएका थिए । यसका लागि सातै दलका शीर्ष नेताहरूबालकोटस्थित ओली निवासमा नयाँ सहमति जुटाएका हुन् ।

को हुन् दाहाल

कक्षा १० मा पढ्ने बेलादेखि राजनीतिक चासो राखेका दाहाल २०२८ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए । २०४२ सालमानेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने । २०४६ सालको जनआन्दोलनअघि मशालको महासचिव बने । २०५२ सालफागुन १ गतेबाट सुरु भएको तत्कालीन नेकपा माओवादीको जनयुद्धको नेतृत्व गरेका दाहाल २०५८ मा नेकपा माओवादीको अध्यक्ष भएभने २०५८ मा जनमुक्ति सेनाको सर्वोच्च कमान्डर पनि बने । त्यसयता लगातार पार्टी नेतृत्वमा रहेका दाहाल २०७५ सालमा एमालेस‌ँगकोपार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष पनि बने ।

संसदीय यात्रा

पहिलो संविधानसभा २०६४ मा रोल्पा र काठमाडौं १० बाट निर्वाचित भएका दाहाल दोस्रो संविधानसभा २०७० मा सिरहा ५ बाट जिते ।२०७४ सालमा प्रतिनिधिसभा सदस्यमा चितवन ३ बाट निर्वाचित भएका दाहाल यसपटक गोरखा-२ पुगेर त्यहाँबाट जितेर आए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलोपटक भएको संविधान सभाको चुनावमा माओवादी ठूलो भएपछि २०६५ सालमा नौमहिनाप्रधानमन्त्री भए । २०७३ सालमा उनी पुन प्रधानमन्त्री बनेका थिए । पहिलो र अहिले तेस्रोपटक प्रधानमन्त्री बन्दा दाहालको मूलसत्ता साझेदार एमाले बनेको छ । दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा उनको मुख्य सत्तासाझेदार दल कांग्रेस थियो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : ४६ बजे