२९ भाद्र २०८१, शनिबार | Sun Sep 15 2024

स्वर्णिम र रविले लिए सांसदको शपथ, सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्ने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् ।

सपथ पछि सभापति रवि लामिछानेले सरकारले न्युनतम साझा कार्यक्रममा आफूहरुले भनेका विषयहरु नसमेटेकाले अब सरकारलाई दिएको समर्थनबारे नै गम्भीर समीक्षा गर्ने बताएका छन् ।

‘सरकारमा जाने विषयमा हामीले सोच्ने कुरा छैन । त्यस्तो वातावरण छैन । सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे चाहिँ छलफल गर्नुपर्नेछ । कयौं आपत्तिजनक घटनाक्रम भएका छन् । यसलाई समीक्षा गर्नुपर्छ’ लामिछानेले भने, ‘हामीलाई मतदाताले निश्चित म्यान्डेट दिएर पठाएका छन् । भ्रष्ट्राचारको छानबिन गर्ने विषय सरकारले न्युनमत साझा कार्यक्रमबाटै हटायो ।’

उनले सरकार परिवर्तनको सम्भावनाको खोजी रास्वपाले आफैं चाहिँ नगर्ने बताए । ‘तर अस्थिरता नहोस् भनिरहँदा जे जस्तो अवस्थामा पनि हामीले समर्थन गरिराख्नुपर्छ भन्ने छैन’ लामिछानेले भने ।

रास्वपाका सांसद स्वर्णिम वाग्लेले पनि स्थिरताका नाममा कुनै पनि अक्षम सरकारलाई बोकिराख्न नपर्ने सर्वकालिक र सर्वव्यापी मान्यता रहेको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ३८ बजे