२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

टोपबहादुर रायमाझी निलम्बित, एमालेले अनुसन्धानमा सहयोग गर्ने



नेकपा(एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उनलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

उक्त प्रकरणमा सचिव रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै महासचिव पोखरेलले भनेका छन्, “हामी विधिको शासनमा विश्वास गर्दछौँ ।”

पक्राउ पुर्जी जारी हुनासाथ राज्यका अनुसन्धान निकायमा उपस्थिति भएर विधिवतरुपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उनी सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिँदै अविलम्बन सम्बन्धित निकायमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जनाएको छ ।

यसैबीच एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०–८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो प्रकरणमा सरकारले लिएको अग्रसरतालाई सहयोग र समर्थन गर्न तयार रहेको बताएका हुन् ।

“नेकपा एमाले सरकारको काममा सहयोग र समर्थन गर्न तयार छ, हामी सहयोग र समर्थन गर्न चाहन्छौँ”, उपमहासचिव गुरुङले भने, “सरकारले जुन खालको छानबिन र अनुसन्धान सुरु गरेको छ, विधि र कानुनको शासन मान्ने तथा भ्रष्टाचारमुक्त नेपाल अभियान मान्ने प्रतिबद्ध भएको पार्टीको सांसदको हैसियतले यो छानबिन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरी, दोषीहरु कोही पनि नछुटून्, निर्दोष व्यक्ति कोही पनि परोस् भनी लागोस् ।”

यस घटनामा संलग्न भनिएका पार्टीका सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको उपमहासचिव गुरुङले सदनलाई जानकारी गराए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : १९ बजे