७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

द्वन्द्वग्रस्त क्षेत्रमा सुरक्षासम्बन्धी काममा नजान सरकारको सुझाव



सरकारले नेपाली नागरिकलाई द्वन्द्वग्रस्त मुलुकमा सुरक्षा कार्यमा भर्ना हुने अनुमति नदिएको स्पष्ट पारेको छ । सरकारले रसिया र यूक्रेनको सेनामा नेपालीहरु भर्ना भएको भन्ने समाचारहरुको प्रतिक्रियामा उक्त सुझाव दिएको हो ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिकहरु विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको’ जनाएको छ।

‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजान पनि मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

साथै, यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइ प्रति सजग रहन समेत सूचित गराइएको छ ।

पछिल्लो समय नेपालीहरु द्वन्द्वग्रस्त मुलुक रसिया, युक्रेनलगायतका देशका सेनामा भर्ना हुने गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ६ : ४८ बजे