१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

को को जाँदै छन् प्रधानमन्त्री दाहालसंग अमेरिका, निजी सचिवालयकै दश जना



प्रधानमन्त्री पुष्पकमल दाहालको भदौ ३० गतेदेखि सुरु हुने संयुक्त राज्य अमेरिकाको भ्रमणमा दश जना निजी सचिवालयका सदस्यहरु जाने भएका छन् ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन जान लागेका प्रधानमन्त्रीको टोलीमा कुल २४ जना सदस्य रहेका छन् । त्यस मध्ये दश जना निजी सचिवालयबाट जाने भएका हुन् ।

भ्रमण दलका सदस्यहरुमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफरहरु प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी छन् ।

त्यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा छन् । यसैगरी परराष्ट्रमन्त्री एनपी साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायत प्रतिनिधि भ्रमण दलमा रहने छन् ।

उनले राष्ट्र संघको ७८ औं महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने तय भएको परराष्ट्र मन्त्री साउदले जानकारी दिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ३ : ३८ बजे