अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ । मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३३ रूपैयाँ ५४ पैसा तोकिएको छ ।
सोमबार भारतीय मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर भएपछि नेपाली मुद्रा पनि डलरको तुलनामा कमजोर भएको हो ।
सोमबार एक डलरको लागि भारतीयहरूले ८३.२७ भारु तिरिरहेका थिए । भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर (पेग्ड) गरिएकोले पनि भारतीय मुद्रा घट्दा नेपाली मुद्राको पनि भाउ घट्छ ।
कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिले पनि अमेरिकी डलरलाई बलियो बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
बेन्ट र डब्लुटिआई कच्चा तेलको मूल्य लगातार तीन सातादेखि वृद्धि भएको छ। यता भारतको व्यापार घाटा समेत १० महिनाकै उच्च भएको छ । भारतको व्यापार घाटा अगष्टमा २४ अर्ब डलर पुगेको छ ।
बुधबार अमेरिककाको केन्द्रीय बैंक फेडबाट ब्याजदरसम्बन्धी घोषणा आउने बताइएको छ । अमेरिकामा मूल्य वृद्धिदरमा सुधार भइरहेपनि ब्याजदर नघट्ने भएको हो ।