२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

रविलाई खोयाले हान्ने रानाभाट १० दिन हिरासतमा



राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामीछानेलाई शनिबार खोयाले हान्ने लमजुङका सन्तोष रानाभाटविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा पेश गरेर १० दिन म्याद थपेको छ । अनुसन्धान गर्न म्याद थपिएसँगै रानाभाटविरुद्ध मुद्दा चल्ने पक्का भएको छ ।

शनिबार पोखराको अमरसिंह चोकमा रास्वपाको सभालाई सम्बोधनका क्रममा लमजुङको राइनासका रानाभाटले लामिछानेमाथि खोयाले हानेका थिए ।

लामिछानेले भने आफूलाई खोया हान्नेलाई कारबाही नगर्न कास्की प्रहरी-प्रशासनलाई आग्रह गरेको बताइएको छ । तर लामिछानेलाई खोया प्रहार गर्ने रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

रविले उजुरी नगरे पनि घटनाको कारणसम्म पुग्न पनि अनुसन्धान गर्नु प्रहरीको दायित्व भएको जिप्रका कास्कीका प्रमुख एवम् एसपी मोहन थापाले बताएका छन् ।

थापाका अनुसार रविलाई आक्रमण गरेको कुरा रानाभाटले अस्वीकार गरेका छन् । आफूले हान्छु भनेर नहानेको बताउँदै खोया झुक्किएर मञ्चमा पुगेको बयान उनले दिएका छन् । रानाभाटको मानसिक अवस्था पनि सामान्य जस्तो नदेखिएको बताइएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ५ : ५७ बजे