अमेरिकाको विश्वमै पहिलो पटक एक ५८ वर्षिय पुरुषलाई नाइट्रोजन ग्याँस दिएर मृत्यु दण्ड दिइएको छ । अमेरिकाको अलाबामा राज्यमा हत्यामा दोषी ठहर भएका कनिथ युजिन स्मिथलाई नाइट्रोजन ग्यास दिएर मृत्युदण्ड दिएको छ ।
मृत्युदण्ड दिँदा नाइट्रोजन ग्यासको प्रयोग विश्वमै पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । स्मिथले मृत्युदण्डलाई क्रूर र असामान्य सजाय भएको तर्क गर्दै सर्वोच्च अदालत र संघीय पुनरावेदन अदालतमा गरेको अपिल हारेपछि मृत्युदण्ड पाएका हुन् । उनलाई सन् २०२२ मा घातक सुई लगाएर दिन लागिएको मृत्युदण्ड सुइको अभावमा रोकिएको थियो ।
स्मिथलाई सन् १९८९ मा एक धर्म प्रचारककी पत्नी एलिजाबेथ सेनेटको भाडा लिएर हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।
अलाबामा र दुई अन्य अमेरिकी राज्यहरूले घातक इन्जेक्सनहरु फेला पार्न गाह्रो भएपछि वैकल्पिक विधिको रूपमा नाइट्रोजन हाइपोक्सियाको प्रयोगलाई अनुमोदन गरेका छन् । त्यही नीति अन्तर्गत पहिलोपटक नाइट्रोजन प्रयोग गरेर मृत्युदण्ड दिइएको हो । अमेरिकाका विभिन्न राज्यहरुमा घाटक इन्जेक्सन लगाएर मृत्युदण्ड दिने गरिएको छ ।
शुद्ध नाइट्रोजन ग्यासमा मात्र सास फेर्दा मस्तिष्कमा अक्सिजन बन्द हुन्छ, यो प्रक्रियालाई नाइट्रोजन हाइपोक्सिया भनिन्छ। अक्सिजन बिना नाइट्रोजन सास फेर्दा शरीरका कोशिकाहरू भाँचिन्छ र मृत्यु हुन्छ। जेल अधिकारीहरूका अनुसार स्मिथको अनुहारमा मास्क लगाएर शुद्ध नाइट्रोजन ग्यास प्रसारित गरिएको थियो ।