१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

यौन दुर्व्यवहारसँग जोडिएको एक कसुरमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना



न्युयोर्कको एक अदालतले अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जिन क्यारोललाई आठ करोड ३३ लाख अमेरिकी डलर क्षतिपूर्ती तिर्न आदेश दिएको छ ।

मानहानिसम्बन्धी मुद्दाको सुनुवाइ गरेको अदालतले भावना र प्रतिष्ठामा पुर्‍याएको क्षतिका लागि एक करोड ८३ लाख अमेरिकी डलर क्षतिपूर्ति र दण्डनीय क्षतिका लागि अर्को ६ करोड ५० लाख डलर तिर्नुपर्ने आदेश दिएको हो । झन्डै तीन घन्टा लामो सुनुवाइपछि अदालतले फैसला सुनाएको हो । ट्रम्पले फैसलालाई ‘हास्यास्पद’ भन्दै माथिल्लो अदालतमा अपिल गर्ने बताएका छन् ।

यस फैसलालाई लिएर दुई थरी धारणा आएको छ । कतिपयले यति ठूलो रकम तिर्नु पर्ने सजाय पूर्वाग्रही भएको बताएका छन् । साथै उनिहरुले मुद्दाका विषयलाई लिएर ट्रम्पले दिएको आक्रमण अभिब्यक्तिहरु पनि कारण हुन सक्ने बताइएको छ ।

यस मुद्दामा सुरुमा अदालतमा उपस्थित भएका ट्रम्पले मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गरेका थिए । तथापि, अन्तिम बहसका लागि अदालती सुनुवाइमा सहभागी भए । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका कारिन्दाले पढ्दा उनी अदालतभन्दा बाहिर थिए ।

फैसलाको क्यारोलले स्वागत गरेकी छिन् । फैसलापछि क्यारोलले भनेकी छिन्, ‘यो हरेक महिलाका लागि ठूलो जित हो । महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरुद्धको यो ठूलो हार हो ।’ क्यारोलले आफूविरुद्ध यौन दुर्व्यवहार भएको कुरालाई ट्रम्पले झुट बोलेको भनेपछि त्यसले आफ्नो प्रतिष्ठामा असर गरेको बताउँदै मुद्दा दायर गरेकी थिइन् । ट्रम्पका समर्थकबाट व्यापक रूपमा हत्याको धम्की आएको उनले बताएकी छिन् ।

क्यारोलले सन् १९९० को दशकमा पूर्वराष्ट्रपतिले आफूलाई एक डिपार्टमेन्ट स्टोरमा यौनहिंसा गरेको बताएकी थिइन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ४६ बजे