१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

महानगरले गरिरहेको काठमाडौंका नदीहरुको सफाई, रुद्रमतीको सफाइ सुरु



काठमाडौं महानगरपालिकाले पछिल्लो पाँच महिनामा नदी किनार र जलबहाब क्षेत्रबाट २ हजार २ सय ४८ टन फोहोर निकालेको जनाएको छ । ७ हजार ६ सय ९४ जनशक्ति परिचालन गरेर ती फोहोर निकालेको महानगरले जनाएको छ ।

सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोत प्रयोग गर्नुपर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको बताइएको छ । महानगर वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार आवश्यकताका आधारमा एक्स्काभेटरसहित उपकरणसमेत प्रयोग गरिएको थियो ।

यी जनशक्ति श्रम बैंकबाट लिइएका बताइएको छ । योजना कार्यान्वयन गर्ने क्रममा ३० असोजदेखि नदी किनाराको सरसफाइ थालिएको र २० फागुनदेखि नदीभित्र प्रवेश गरेर फोहोर निकाल्न थालिएको महानगरले जनाएको छ ।

गत १ मंसिरदेखि सहरी सरसफाइका लागि थप गरिएका ३ सय जनशक्तिले पनि काम गरिरहेका छन् । उनीहरूलाई नदी किनारा, सडक, पार्क र सार्वजनिक स्थल सफाइमा खटाइएको छ ।

सफाइ क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लास्टिक छ । त्यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न फोहोर भेटिने गरेको छ । रुद्रमती (धोबीखोला) र बागमती नदी दोभानबाट रुद्रमती शिरतर्फ पनि सफाइ सुरु भएको जनाएको छ । श्रम बैंकबाट लिइएका ५५ जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो ।

काठमाडौंमा मुख्य नौ वटा नदी छन् । तीमध्ये बागमतीको पहिलेदेखि सफाइ भइरहेकाले महानगरपालिकाले बागमती सफाइ योजना नबनाएको र यसबाहेक विष्णुमती, रुद्रमती, मनोहरा, इच्छुमती (टुकुचा), बल्खु खोला, सामाखुसी, कर्खुसी (बाफल) र भचाखुसी (स्वयम्भू, शोभा भगवती) सफाइ भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ६ : ३० बजे