४ असार २०८१, सोमबार | Mon Jun 17 2024

अमेरिकी राष्ट्रपतीय चुनावमा चन्दा उठाउने होड, ट्रम्पले जम्मा गरे एकै रात ५० मिलियन डलर



पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतीय चुनावी अभियानले शनिबार ५०.५ मिलियन डलर चन्दा उठाएको जनाएको छ । अमेरिकी समाचार संस्थाहरुका अनुसार उनले एकै दिन यतिका चन्दा उठाएको रेकर्ड बनाएको हो ।

अर्बपति लगानीकर्ता जोन पाउलसनको घर पाम बिच, फ्लोरिडामा प्रमुख चन्दादाताहरूसँगको कार्यक्रमबाट एकै दिन यतिका रकम उठाएको अभियानले जनाएको छ ।

यो रकम राष्ट्रपति जो वाइडेनका लागि पूर्व राष्ट्रपतिहरू बिल क्लिन्टन र बाराक ओवामासहित सहभागी भएर न्यूयोर्कको रेडियो सिटी म्युजिक हलमा उठाएको चन्दा भन्दा झण्डै दोब्बर छ । उक्त कार्यक्रममा राष्ट्रपति वाइडेनको चुनावी अभियानले २६ मिलियन डलर उठाएको घोषणा गरेको थियो ।

“यो स्पष्ट छ की नोभेम्बर ५ को चुनावमा राष्ट्रपति ट्रम्पलाई जिताउनका लागि हामी स्पष्ट सन्देश दिएका छौं, हामीले रकम उठाएका छौं र काम गर्ने क्षमता छ’ ट्रम्पको अभियानका वरिष्ठ सल्लाहकारहरू क्रिस लासिभिटा र सुसी विल्सले एक विज्ञप्तिमा भनेका छन् ।

सञ्चार माध्यमहरुले उक्त रात्रीभोजमा उठेको रकमले ट्रम्प र रिपब्लिकन पार्टीको कोष सङ्कलन कार्य जो बिइडेन र डेमोक्र्याट पार्टी भन्दा अघि रहेको देखाएको टिप्पणी गरेको छ ।

आफ्नी पत्नी मेलानिया ट्रम्पसँग कार्यक्रममा आउनुभन्दा केही घण्टा अघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालहरूमा एक पोस्टमा भनेका थिए, “कोष सङ्कलन गर्ने सबैभन्दा ठूलो रात !!! बाइडेनले गत हप्ता रेडियो सिटीमा उठाएको भन्दा दोब्बर हुनेछ । जनता परिवर्तनका लागि आतुर छन् । तिनीहरू अमेरिकालाई फेरि महान बनाउन चाहन्छन् !”

ट्रम्प र रिपब्लिकन पार्टीले मार्चमा ६५.६ मिलियन चन्दा उठाएको र कुल ९३.१ मिलियनको कोष जम्मा गरेको उल्लेख गरेको छ भने बाइडेन र डेमोक्र्याटहरूले शनिबार मार्चमा आफुहरुले ९०मिलियन भन्दा बढी उठाएर कुल १९२ मिलियन डलरको कोष उपलब्ध रहेको जनाएको छ ।

यसैबीच डेमोक्र्याटिक नेशनल कमिटीका अध्यक्ष जेमे ह्यारिसनले भनेका छन्, ”जब डोनाल्ड ट्रम्प मार-ए-लागोमा गल्फ ट्रफीहरू देखाउँदै अर्बपतिहरू टहालिइ रहेका छन्, त्यही बेला जो बाइडेनले देशभरका मतदाताहरूसँग सम्पर्क राख्दै छन् र हाम्रो अर्थतन्त्रलाई कसरी सवल बनाएर सर्वसाधारणको जीवन उकास्न सकिन्छ भन्ने कुरामा मन्थन गर्दैछन् ।”

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ५ : २८ बजे