संसारकै धनी व्यक्ति एलोन मस्कलाई अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शासकीय दक्षता विभाग (डीओजीई) मा नियुक्तिको घोषणा गरेपछि अनेक कोणबाट चर्चा चलिरहेको छ । खासमा उक्त विभागको रुप रेखा अझै स्पष्ट छैन, तर ट्रम्प र मस्कले उक्त विभागले फजुल सरकारी खर्च घटाउने, प्रशासन संयन्त्रलाई चुस्त बनाउने र अनावश्यक कर्मचारीको कटौती गर्ने बताएर थप ध्यानाकर्षण गरेका छन् ।
ट्रम्पले सामाजिक मिडियामार्फत मस्क र पूर्व रिपब्लिकन राष्ट्रपति उम्मेदवार विवेक रामस्वामीलाई उक्त विभागको जिम्मा दिएका छन् । साथै उनले अनावश्यक नियमहरूको कटौती गर्ने, फिजूल खर्च घटाउने र संघीय एजेन्सीहरूको पुनर्गठन गर्ने काम त्यसले गर्ने उल्लेख गरेका छन् ।
टेक उद्यमी मस्क पनि यस विषयलाई लिएर निक्कै हौसिएको देखिन्छ । उने आफुले यसका लागि तयारी गरेको र महिनौंदेखि संघर्ष गरेको पनि उल्लेख गरेका छन् । यद्यपी कतिपयले मस्कको यो भूमिकाले सरकारी नीतिमा प्रभाव पर्ने र आफ्ना व्यवसायहरूमा लागू हुने नियामक वातावरणलाई गलत ढंगले प्रभाव पार्ने अवसरको रुपमा प्रयोग गर्न सक्ने आशंकाहरु व्यक्त गरिएका छन् ।
यसअघि अक्टोबरमा ट्रम्पको राष्ट्रपतीय चुनापी र्यालीका क्रममै मस्कले दुई ट्रिलियन डलर भन्दा बढी खर्च घटाउन सकिने उल्लेख गरेका थिए । साथै उनले सरकारी कर्मचारीहरूको संख्या पनि कटौती गर्नु पर्ने बताएका थिए । अझ रामस्वामीले त एक कदम अघि बढेर शिक्षा विभाग, आणविक नियामक आयोग, आन्तरिक राजस्व सेवा र एफबीआइ संघीय विभागहरूलाई खारेज गर्नु पर्ने समेत बताएका थिए ।
मस्कको कुरा गर्दा उनले मंगलग्रहमा कब्जा जमाउने उनको मनसुबामा नियमक बाधक बनेको बुझाइ रहेको छ । उनले एक पटक भनेका थिए, “यो तब सम्भव छ, जब यसलाई ब्युरोक्रेसीले दबाउँदैन ।” के उनको नियमकको विरोध यसैको लागि हो त? उनले नेतृत्व गर्ने नयाँ विभागले उनको “पृथ्वी बाहेक जीवन विस्तार गर्ने एकमात्र बाटो” भनेर उनकैले भनेको बाटो खोल्ला । उनको भनाई, बुझाइ र गराईले सरकारी एजेन्सीहरूको ठूलो कटौतीले उनका व्यवसायिक चासोहरूलाई मलजल गर्ने संभावना रहने बताइन्छ ।
उनको स्पेश एक्ससँग अमेरिकी सरकारको ८ बिलियन डलरको ठेक्का चलिरहेको छ । यसमा पनि सरकारसँगको निकटताले उनलाई फाइदा पुर्याउन सक्छ । साथै उनको टेस्ला कार कम्पनीमा सरकारी एजेन्सीहरूबाट हुने जाँचहरूको सामना गर्न परेका कारण पनि नियामक कटौतीको चाहना राखेका हुन् की?
मस्कले धेरै पटक नियामकहरूलाई आफ्नो कम्पनीहरूको माथि “निरर्थक जाँच” गर्ने गरेको आरोप लगाएका छन् । २०२२ को सेप्टेम्बरमा उनले स्पेश एक्सलाई ६३३,००० डलर जरिवाना लगाउने योजनालाई चुनौती दिँदै यसलाई “नियामक अत्याचार” भनेका थिए । मस्कले चाहे जस्तो धेरै नियामकहरु कटौतीले उनलाई व्यक्तिगत रुफमा लाभ हुने बुझाइ धेरैको रहेको छ ।