१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ जना, दोस्रो दिन हुनेछ महत्वपूर्ण भेटवार्ता



प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा कुल ८७ सदस्य रहने भएको छ । प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा सरकारी ३९ सदस्यीय हुनेछ भने निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहनेछन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले १७–२० मंसिरमा चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछन्। जाने–आउने दुई दिनबाहेक बाँकी दुई दिन उनी बेइजिङमा भेटवार्ता लगायतका कार्यक्रममा व्यस्त रहनेछन्।

चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैदिन तीन शीर्ष चिनियाँ नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् भने तेस्रो दिन तीनवटा कार्यक्रममा सहभागी बन्ने भएका छन्।

मन्त्रालयका अनुसार भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सभापति झाओ लेजीसँग भेटवार्ता गर्ने तय भएको छ।

दोस्रो दिन उच्चस्तरीय भेटवार्तामा सहभागी हुने प्रधानमन्त्री ओलीले तेस्रो दिन नेपाल उद्योग वाणिज्य महासंघले बेइजिङमा आयोजना गर्ने नेपाल इन्भेष्टमेन्ट फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसबाहेक उनी पेकिङ युनिभर्सिटीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। विश्वविद्यालयमा आयोजना गरिने कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार नै चीन गइसकेकी छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ९ : १८ बजे