पछिल्लो समय व्यापारीको पक्षमा लागेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अप्ठ्याराोमा पार्दै आएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का आफै अप्ठ्यारोमा परेका छन् ।
उनको कम्पनीले नेपाल स्काउटको भवन र जग्गा भोगचलन गरेको भाडास्वरुप दिनु पर्ने पाँच करोड १९ लाखभन्दा बढी रकम नतिरे पछि उनी अप्ठ्यारोमा परेका हुन् ।
स्काउटको अनुरोधमा संसदीय समितिले समेत यस विषयमा चासो लिएको छ । स्काउटले लिने पर्ने मध्ये २ करोड ४० लाखभन्दा बढी रकम सावाँ र २ करोड ७८ लाखभन्दा बढी रकम जरिवाना रहेको जनाएको छ ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्काउटलाई मन्त्री खड्काको कम्पनीले तिर्न बाँकी रकमको विवरण पठाउन निर्देशन दिए पछि उक्त रकम बाहिरिएको हो ।
लैनचौरस्थित तीन रोपनी जग्गा र त्यमास रहेको भवन भाडामा लिएर सटरहरु भाडामा लगाएपनि उनले स्काउटलाई भने लामो समयदेखि नतिरेको भेटिएको हो । साथै सम्झौताभन्दा १० रोपनी बढी जग्गा पनि जवरजस्ती प्रयोग गरेको भन्दै यसअघि नै उनको कम्पनीमा ताला लगाइ सकिएको छ ।
खड्काको कम्पनीले पछिल्लो २ महिनामा स्काउटको खातामा १ करोड ५० लाख रुपैयाँ दाखिला गरेको बताएको छ । खड्काको कम्पनीले जरिवाना छुट हुनुपर्ने माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने स्काउटले जरिवानासहित बक्यौता असुलको आदेश माग गर्दै मुद्दा दायर गरेको छ । दुवै मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छन् ।









