अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानमा कैयौँ महत्वाकांक्षी वाचा गरेका थिए— कर कटौती, मूल्य नियन्त्रण, आप्रवासन नियन्त्रण, युद्ध अन्त्य, र अमेरिकी उद्योगलाई सशक्त बनाउने । साथै उनले ‘वाचा गरियो, पूरा गरिन्छ’ भन्ने नाराका साथ कार्यकाल सुरु गरेका थिए । त्यसैले पहिलो महिनामा उनले के गर्न सके, के गर्न सकेनन् चासोको बिषय बनेको छ । यहाँ बिभिन्न अन्तर्राष्ट्रिय समाचारहरूको आधारमा लेखाजोखा गरिएको छ ।
मूल्य नियन्त्रणको चुनौती: ट्रम्पले आफ्नो पहिलो दिनबाटै अमेरिकीको भान्छाको खर्च घटाउने प्रतिज्ञा गरेका थिए । तर हालसम्म कुनै ठोस परिणाम देखिएको छैन । ऊर्जा लागत घटाउने उपायका रूपमा उनले ड्रिलिङ बढाउने योजना प्रस्तुत गरे पनि, जनवरीमा मूल्य वृद्धिले उनको योजना जटिल बनाइदिएको छ । यस विषयमा उनले पूर्व राष्ट्रपति जो बाइडेन र डेमोक्र्याटहरूको खर्चलाई दोष दिए पनि अर्थशास्त्रीहरू भन्छन्, ट्रम्पका कतिपय नीतिहरूले नै महँगी बढाउने खतरा छ ।
विशाल सामूहिक डिपोर्ट कार्यक्रम: ट्रम्पले पद सम्हाल्नासाथ अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन कार्यक्रम सुरू गर्ने वाचा गरेका थिए । उनले आप्रवासन सुधारका लागि धेरै कार्यकारी आदेश जारी गरे । तर, पहिलो महिनामा ३७,६६० जनालाई मात्र देश निकाला गरिएको छ, जुन जो बाइडेनको अन्तिम कार्यकालको मासिक औसत (५७,०००) भन्दा कम हो । तथापि, ट्रम्प प्रशासनले अवैध आप्रवासन घटेको दाबी गरेको छ ।
जनवरी ६ का अभियुक्तहरूलाइ माफी: राष्ट्रपति पदको सपथ लिएको केही घण्टामै ट्रम्पले १५०० भन्दा बढी अमेरिकी संसद भवन हमलाका आरोपीहरूलाई माफी दिए । उनले आफ्नो वाचा पूरा गरे पनि, यसले अमेरिकी समाजमा विवाद निम्त्याएको छ ।
युक्रेन युद्ध अन्त्य गर्ने प्रयास: ट्रम्पले केही घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने प्रतिज्ञा गरेका थिए । उनले रुससँग वार्ता सुरू गरे पनि, युक्रेन सरकारले अमेरिकी पहललाई अस्वीकार गरेको छ । ट्रम्पले युद्ध अन्त्यका लागि कस्तो सम्झौता प्रस्ताव गर्ने भन्ने अझै अस्पष्ट छ, युरोपियन नेताहरूले पनि अमेरिकाले आफुहरू बिना निर्णय लिन नसकिने बताएका छन् ।
जन्मसिद्ध नागरिकताको अन्त्य: ट्रम्पले अवैध आप्रवासीका सन्तानलाई अमेरिकी नागरिकता नदिने कानुन कार्यान्वयन गर्ने प्रतिज्ञा गरेका थिए । उनले यससम्बन्धी आदेश जारी गरे पनि अमेरिकी संविधानको १४औँ संशोधनले यो अधिकार सुनिश्चित गरेको छ । कानुनविज्ञहरूका अनुसार, यो परिवर्तन ट्रम्पको एकल निर्णयबाट सम्भव छैन । अदालतमा यसबारे कानुनी चुनौती पेश भइसकेको छ ।
क्यानडा र मेक्सिकोमाथि थप कर: ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिने सबै वस्तुहरूमा २५% कर लगाउने घोषणा गरेका थिए । २१ जनवरीमा उनले यो निर्णय लागू गर्ने घोषणा गरे पनि, एक महिना ढिलाइ गरेका छन् । कारण— दुवै देशले सीमा सुरक्षामा सुधार ल्याउने वाचा गरेका छन्, साथै अर्थशास्त्रीहरूले यस्तो कदमले बजारलाई अस्थिर बनाउने चेतावनी दिएका छन् ।
ट्रम्पको पहिलो महिना नीतिगत सक्रियताले भरिएको देखिन्छ । उनले केही वाचाहरू पूरा गरे— जस्तै, जनवरी ६ का अभियुक्तहरूलाई माफी दिनु । केही वाचा आंशिक रूपमा पूरा भए— जस्तै, अबैध आप्रवासीहरूको निस्कासन अभियान । तर, मूल्य नियन्त्रण, जन्मसिद्ध नागरिकता अन्त्य, र युद्ध अन्त्य जस्ता वाचा पूरा गर्न कानुनी तथा कूटनीतिक चुनौतीहरू देखिएका छन् ।








