चर्को विरोधको सामना गरिरहेको ताप्लेजुङस्थित पाथीभरा केबलकार निर्माणका सम्पूर्ण काम तत्कालका लागि यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
यामबहादुर लिम्बूलगायतले पाथीभरा दर्शन केबलकार प्रालिविरुद्ध दायर गरेको रिटमा न्यायाधीश शारंगा सुवेदीको इजलासले कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
छलफलका लागि दुवै पक्षलाई आगामी २६ गते बोलाइएको छ । ‘निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गाम्भीर्य हेर्दा दुवै पक्षको सुनुवाइ गरी अन्तरिम आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने विषयमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएको,’ आदेशमा भनिएको छ ।
पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आदिवासी जनजातिलगायत आन्दोलनमा छन् । केबलकार निर्माणले आफ्नो सांस्कृतिक आस्थामाथि अतिक्रमण हुने उनीहरुले बताउँदै आएका छन् ।











