मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ । संखुवासभाको मकालु गाउँपालिकामा रहेको हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्जेन्डर पन्काओको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार आइतबार राति तेस्रो क्याम्पसम्म पुगेर बास बस्न दोस्रो क्याम्प फर्किने क्रममा उनको मृत्यु भएको हो । पन्काओ हिमालयन गाइड्स नामक ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि आएका थिए ।
उनी अन्य तीन विदेशी र चार जना नेपाली नागरिकसहित मकालु हिमाल आरोहणका लागि २७ अप्रिलमा सोलुखुम्बु हुँदै संखुवासभा उक्लिएका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।
मृतकको शव निकाल्ने प्रयास भइरहेको जनाइएको छ । अन्य फ्रान्सेली पर्वतारोहीहरू सकुशल रहेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तीमा ७ दिनको पैदल दूरीमा पर्दछ ।
यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिक रूपमा विकट मानिन्छ । मृतकको शव हेलिकोप्टरमार्फत ल्याउन ट्रेकिङ कम्पनीसाग समन्वय भइरहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै सोमबार दिउँसो प्रहरी घटनास्थलतर्फ गएको छ ।