गण्डकी सरकारले जारी गरेको राइड सेयरिङ नियमावलीको विरुद्धमा यातायात बन्द गरेको यातायात व्यवसायीले आन्दोलन पनि स्थगित गरेका छन् ।
गण्डकी प्रदेश सरकार तत्काललाई एक महिनाका लागि उक्त नियमावली कार्यान्वयन नगर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलन स्थगित गरेको हो ।
सुरुमा गण्डकी प्रदेशमा मात्र सार्वजनिक यातायात बन्द गरेर सुरु भएको आन्दोलन सार्वजनिक यातायात बचाऊ केन्द्रीय आन्दोलन परिचालन कमिटीको नाममा देशभरी नै भएको थियो ।
कमिटीका संयोजक एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आन्दोलनका कार्यक्रम सबै स्थगित भएको बताए । उनका अनुसार थप विवरण बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइने छ ।
राइड सेयरिङ नियमावली स्थगन साथै व्यवसायीहरुले सरकारसँग विभिन्न ६ बुँदामा सहमति गरेका थिए । सरकारी वार्ता टोली र सार्वजनिक यातायात व्यवसायीबीच भएको सहमतिमा गण्डकी प्रदेश लगायतका प्रदेश सरकारहरुद्वारा विभिन्न मितिमा जारी गरिएका निजी सवारी साधन (रातो नम्बर प्लेटका) लाई यात्रु बोक्न दिनेगरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावलीहरु यससम्बन्धी संघीय कानुनहरु तर्जुमाको क्रममा रहेकोले सो कार्यान्वयनमा नआउँदासम्म सम्बन्धित प्रदेशका राईड सेयरिङसम्बन्धी नियमावलीहरु स्थगन गर्न गण्डकीलगायतका प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत अनुरोध गर्नेलगायतका सहमति छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग भएको यातायात व्यवसायीको सहमति पछि मंगलबार नै मन्त्रालयले सहमति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएको थियो भने कार्यालयले गण्डकी सरकारलाई तत्कालका लागि राइड सेयरिङ सम्बन्धी नियमावली स्थगन गर्न अनुरोध गरेको थियो । उक्त अनुरोधपछि गण्डकी सरकारले एक महिनाको लागि नियमावलीको कार्यान्वयन स्थगन गरेको हो ।









