नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा गहिरिंदो आन्तरिक विवादबीच संस्थापक नेता रेशम चौधरी पक्षधर समूहले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदसहित साधारण सदस्यबाटसमेत हटाउने निर्णय गरेको छ ।
बुधबार काठमाडौंमा बसेको नाउपाको राष्ट्रिय भेलाले श्रेष्ठलाई हटाउने निर्णय लिएको हो । संस्थापक केन्द्रीय सदस्य बलवीर चौधरीका अनुसार उक्त निर्णय मंगलबार निर्वाचन एवं अनुशासन आयोगबाट भएको कारबाही निर्णयको आधारमा गरिएको हो ।
तीन सदस्यीय अनुशासन समितिमा रामलाल डगौरा थारु संयोजक रहेका छन् भने पुन्नबहादुर बुढा र सुनिता चौधरी सदस्य रहेका छन् । यद्यपि, सुनिता चौधरी हाल कञ्चनपुरमा आर्थिक अनियमितता अभियोगमा थुनामा छिन् ।
पार्टीका अनुसार अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध पाँच प्रमुख आरोप लगाइएको छ, बैठक नबोलाएको, स्पष्टीकरण नबुझाएको, कार्यवाहक अध्यक्ष तोकेको, पोखराको लिचीबारी प्रकरणमा मुछिएको र पार्टीको विधि मिचेको ।
बुधबारको भेलामा २१ सदस्यीय केन्द्रीय समितिमध्ये १२ जना सहभागी थिए । साथै संघ, प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई पनि आमन्त्रण गरिएको थियो ।
नाउपाको अन्तरिम विधान २०७८ को दफा १३ अनुसार केन्द्रीय कमिटीको सिफारिसमा राष्ट्रिय भेला आयोजना गर्न सकिने व्यवस्था छ । तर भेला प्रतिनिधिको स्पष्ट परिभाषा भने विधानमा छैन ।
यसअघि आइतबार १३ जना संस्थापक केन्द्रीय सदस्यको बहुमत बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर उनले स्पष्टीकरण बुझाइनन् । शुक्रबार नै बहुमत सदस्यहरुले समिति बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएका थिए ।
शनिबार श्रेष्ठले संस्थापक सदस्य नरहेका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । तर धारा १९ को उपधारा ६ मा अध्यक्षले अधिकार प्रत्यायोजन गर्न सक्ने व्यवस्था भए पनि बास्तोलाको मनोनयनलाई पार्टीको भेलाले अवैध ठहर गर्दै आपत्ति कारवाही अघि बढाएको हो ।
संरक्षक रेशम चौधरीले पनि कार्यवाहक अध्यक्ष मनोनयनलाई गलत भनेका छन् । उता अध्यक्ष पक्षधर संस्थापक सदस्य कोमल ज्ञवालीले भने कारवाहीको निर्णय विधिविपरीत भएको दाबी गर्दै अदालतमा मुद्दा जान सक्ने संकेत दिएकी छन् ।
कार्यवाहक मनोनीत शिव बास्तोलाले पनि भेलाको औचित्यमाथि प्रश्न उठाउँदै उक्त निर्णयलाई अर्थहीन भनेका छन् । “संसदीय दलको तर्फबाट बैठक बोलाउनु नै विधानविपरीत छ,” उनले टिप्पणी गरे ।
पोखराको बाटुलेचौरस्थित लिचीबारी जग्गा अनियमितताको आरोपपछि अध्यक्ष चौधरीद्वारा कार्यवाहकको जिम्मेवारी बास्तोलालाई दिइएपछि पार्टीभित्रको द्वन्द्व झनै चुलिएको हो ।
नाउपाको नेतृत्व संकट अब राजनीतिक र कानुनी मोर्चा दुबैमा प्रवेश गर्ने संकेत देखिएको छ ।









