सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात कायम राख्यो।
१९४ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको पोखराले ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो। लगातार दोस्रो हारसँगै पोखरा अंक तालिकाको पुछारमा झरेको छ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले ३२ बलमा चार चौका र चार छक्कासहित ५३ रन बनाए। जिम्मी निसमले २५ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ४७ रन जोडे भने डान डाउथवेटले १६ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ३७ रन थपे। अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न नसके।
सुदूरपश्चिमका हरमित सिंहले सर्वाधिक दुई विकेट लिए। स्कट कुग्लेजिन, दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, अविनास बोहरा र नरेन साउँदले एक–एक विकेट प्राप्त गरे।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १९३ रनको बलियो योगफल बनाएको थियो। ओपनर जस ब्राउन र विनोद भण्डारीले पहिलो विकेटका लागि १०.४ ओभरमा १०८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए।
जस ब्राउनले ३५ बलमा चार चौका र पाँच छक्कासहित ६८ रन बनाए। उनी जिम्मी निसमको बलमा किरण ठगुन्नाले क्याच आउट गरे। विनोद भण्डारीले ४२ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए।
क्रिस लिनले १३ बलमा चार चौका र दुई छक्कासहित ३१ रनको तेज पारी खेले। कप्तान दीपेन्द्रसिंह ऐरीले १५, स्कट कुग्लेजिनले ८, हरमित सिंहले ४ रन जोडे। आरिफ शेख शून्यमा आउट भए भने इशान पाण्डे ६ र नरेन साउँद ४ रनमा अविजित रहे।
पोखराका बलरमध्ये जिम्मी निसमले तीन विकेट लिए। डान डाउथवेट र आकाश चन्दले दुई–दुई विकेट हात पारे।
एनपीएलमा शनिबार दुई रोमाञ्चक खेल हुनेछन्—पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स आमनेसामने हुनेछन्।








