७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

यस्तो थियो भेनेजुएलाका राष्ट्रपति मदुरो समात्न अमेरिकाले योजना



अमेरिकी गुप्तचर र सेनाले महिनौँसम्म गोप्य रूपमा निगरानी गरेपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको बीबीसीले खुलासा गरेको छ । ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नाम दिइएको उक्त कारबाही शीतयुद्धपछि ल्याटिन अमेरिकामा अमेरिकाले गरेको सबैभन्दा ठूलो प्रत्यक्ष सैन्य हस्तक्षेपमध्ये एक भएको बताइएको छ ।

अमेरिकी गुप्तचरहरूले मदुरो कहाँ सुत्छन्, के खान्छन्, के लगाउँछन्, यहाँसम्म कि उनका घरपालुवा जनावरसम्मको जानकारी संकलन गर्दै आएका थिए । भेनेजुएला सरकारभित्रकै एक स्रोतसहितको सानो टोलीले मदुरोको गतिविधि निरन्तर ट्र्याक गरिरहेको थियो । त्यसै आधारमा डिसेम्बरको सुरुतिर अपरेसनलाई अन्तिम रूप दिइयो ।

अमेरिकी सेनाले मदुरो बस्ने काराकासस्थित सुरक्षित आवासको ठ्याक्कै प्रतिकृति बनाएर अभ्याससमेत गरेको बीबीसीको रिपोर्टमा उल्लेख छ । योजनालाई अत्यन्त गोप्य राखिएको थियो र अमेरिकी कांग्रेसलाई अग्रिम जानकारीसमेत दिइएको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति १०:४६ बजे (अमेरिकी समय) कारबाही सुरु गर्न आदेश दिएका थिए । काराकासमा मध्यरात नजिकै आदेश आएपछि अमेरिकी सेनाले अँध्यारोको फाइदा उठाउँदै हवाई, स्थल र समुद्री मार्गबाट एकसाथ आक्रमण सुरु गर्‍यो । अपरेसन करिब दुई घण्टा २० मिनेट चलेको जनाइएको छ ।

काराकासमा राति करिब २ बजे ठूला विस्फोटका आवाज सुनिएका थिए । शहरका विभिन्न भागमा धुवाँका मुस्ला देखिएको र आकाशभरि हेलिकप्टर तथा लडाकु विमान उडिरहेको स्थानीय सञ्चारमाध्यम र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसी भेरिफाइका अनुसार कम्तीमा पाँच स्थान, ला कार्लोटा हवाई अड्डा, जनरलिसिमो फ्रान्सिस्को दे मिरान्डा एयर बेस, फुएर्ते तिउना सैनिक परिसर र ला ग्वाइरा बन्दरगाह वरपर लक्षित गरी आक्रमण गरिएको थियो ।

अमेरिकी विशेष फौज डेल्टा फोर्स मदुरोको सुरक्षित आवासमा प्रवेश गर्दा प्रतिरोध भएको र एक हेलिकप्टरमा क्षति पुगे पनि उडान सक्षम रहेको अमेरिकी सेनाले जनाएको छ । मदुरो सुरक्षित कोठातर्फ भाग्ने प्रयासमा रहेकै बेला अमेरिकी सैनिकले उनलाई नियन्त्रणमा लिएको राष्ट्रपति ट्रम्पको दाबी छ । अपरेसनका क्रममा मदुरोकी पत्नी सिलिया फ्लोरेसलाई पनि पक्राउ गरिएको छ ।

कारबाहीका क्रममा केही अमेरिकी सैनिक घाइते भए पनि ज्यान गएको छैन । तर भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले मदुरोको सुरक्षा टोलीका सदस्य, सैनिक र सर्वसाधारणको मृत्यु भएको दाबी गरेका छन् ।

अमेरिकी हेलिकप्टरहरूले शनिबार बिहान करिब ४:२० बजे मदुरो र उनकी पत्नीलाई भेनेजुएलाबाट बाहिर लगेका थिए । उनीहरूलाई अमेरिकी न्याय मन्त्रालयको हिरासतमा न्यूयोर्कमा राखिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ११ : ३९ बजे