अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइस) का एक एजेन्टले मिनियापोलिसकी महिला रेनी गुडको हत्या गरेपछि त्यसको विरोधमा अमेरिकाभर व्यापक प्रदर्शन भएका छन् । शनिबार देशका विभिन्न सहरका सडकमा उत्रिएका प्रदर्शनकारीहरूले आइसलाई आफ्ना समुदायबाट हटाउन र रेनी गुडको हत्यामा न्यायको माग गरेका छन् ।
मिनियापोलिसमा हल्का हिमपात भइरहेका बेला हजारौँ मानिस पार्क, आवासीय क्षेत्र र संघीय भवन बाहिर भेला भए । उनीहरूले ‘रेनी गुड’को नाम जप्दै संघीय सरकारको आप्रवासन कारबाहीप्रति आक्रोश व्यक्त गरे । राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन अभियानका क्रममा संघीय निकायले सहरहरूमा अपनाइरहेका कार्यशैलीविरुद्ध गुडको मृत्यु राष्ट्रिय आक्रोशको केन्द्र बनेको छ ।
यस्तै प्रदर्शन लस एन्जलस, न्यूयोर्क, वाशिङ्टन डीसी, एल पासो र बोस्टनलगायतका सहरमा पनि भए । ‘आइस आउट फर गुड’ नामक राष्ट्रिय गठबन्धनको आह्वानमा यो सप्ताहन्त अमेरिकाभर एक हजारभन्दा बढी प्रदर्शन आयोजना गरिएको जनाइएको छ ।
गठबन्धनले गुडको ‘भयानक हत्या’ र अल्पसंख्यक तथा सीमान्तकृत समुदायमा आइसद्वारा भइरहेको हिंसात्मक व्यवहारको विरोधमा शान्तिपूर्ण, कानुनी र समुदाय–नेतृत्वमा आधारित प्रदर्शन गरिएको जनाएको छ ।
मिनियापोलिसका मेयर ज्याकब फ्रेले गत साता घटनाको कडा निन्दा गर्दै आइस एजेन्टहरूलाई सहर छाड्न आग्रह गरेका थिए । तर, होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले मेयर र अन्य नेताहरूले आफ्नो अभिव्यक्ति संयमित गर्नुपर्ने बताएकी थिइन् । त्यसको जवाफमा मेयर फ्रेले गुडलाई गोली हान्ने व्यक्ति ‘अत्यधिक शक्ति प्रयोग गर्ने संघीय एजेन्ट’ भएको दाबी दोहोर्याउँदै निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका छन् ।
शनिबारको मुख्य प्रदर्शन मिनियापोलिसको पाउडरहर्न पार्कबाट सुरु भएको थियो, जुन सन् २०२० मा जर्ज फ्लोयडको हत्यापछि भएको ऐतिहासिक प्रदर्शनको केन्द्र पनि हो । त्यहाँबाट हजारौँ प्रदर्शनकारी मार्च गर्दै गुडको हत्या भएको स्थानमा पुगे । करिब २० डिग्री फरेनहाइट तापक्रममा प्रदर्शनकारीहरूले कम्बल र तातो पेय बाँड्दै ‘छिमेकीलाई मार्नु जीवन–समर्थक होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
यसैबीच, बिशप हेनरी व्हिपल संघीय भवन बाहिर भएका केही प्रदर्शन तुलनात्मक रूपमा तनावग्रस्त बने । त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच झडपजस्तो अवस्था सिर्जना हुँदा पेपर बल प्रयोग गरिएको जनाइएको छ । मिनियापोलिस प्रहरीका अनुसार शुक्रबार राति करिब एक हजारको प्रदर्शनका क्रममा केही व्यक्तिले होटलका झ्यालमा क्षति पुर्याएपछि २९ जनालाई नियन्त्रणमा लिएर पछि रिहा गरिएको थियो ।
मेयर फ्रेले अधिकांश प्रदर्शनकारी शान्तिपूर्ण रहेको उल्लेख गर्दै तोडफोड र अरूको सुरक्षामा खतरा पुर्याउनेहरूलाई कारबाही गरिने चेतावनी दिए । मिनेसोटाका गभर्नर टिम वाल्जले पनि शान्तिपूर्ण आन्दोलनको आग्रह गर्दै संघीय सरकारको आलोचना गरे । ‘एकै दिनमा सशस्त्र संघीय अधिकारी पठाइए र एक जनाको ज्यान गयो,’ उनले भनेका छन् ।








