१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सरकार–चिकित्सकबीच ५ बुँदे सहमति, बिहीबारदेखि देशभरका अस्पतालका सेवा सुचारु हुने



काठमाडौं — आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि देशभरका अस्पतालहरूमा बिहीबारदेखि नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने भएको छ। सहकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले दुई दिनदेखि आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्दै आन्दोलन गरिरहेको थियो।

बुधबार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयमा स्वास्थ्यमन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयका वरिष्ठ अधिकारी, कानुन तथा गृह मन्त्रालयका प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको वार्तामा चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणका घटनामा कडा कानुनी कारबाही गर्ने विषयमा सरकार सहमत भएको हो। सहमतिसँगै चिकित्सकहरूले जारी आन्दोलन तत्कालै फिर्ता लिएका छन्।

स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. मनोहर प्रधानका अनुसार चिकित्सक संघले उठाएका मागलाई सम्बोधन गर्दै पाँच बुँदे सहमति भएको छ। उनले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको र घटनापछि विवादमा तानिएका प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा पनि भइसकेको जानकारी दिए। उनले बिहीबारदेखि देशभरका सबै सरकारी तथा निजी स्वास्थ्य संस्थामा नियमित सेवा सञ्चालन हुने बताए।

चिकित्सकहरूको आन्दोलन गत शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा भएको घटनापछि सुरु भएको थियो। अस्पतालको आकस्मिक कक्षमा उपचाररत ४५ वर्षीय मुटुरोगीको मृत्यु भएपछि उनका आफन्तले आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड गर्नुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए। सो क्रममा ड्युटीमा रहेका डा. प्रमोद राममाथि कुटपिट भएको थियो। घाइते डा. रामको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

दुई दिनसम्म नियमित स्वास्थ्य सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका लाखौँ बिरामी प्रभावित भएका थिए। आकस्मिक सेवा मात्रै सञ्चालन हुँदा बिरामीको अत्यधिक चाप बढेको थियो। विशेषगरी वीर अस्पतालमा आकस्मिक कक्षमा आउने बिरामीको संख्या असामान्य रूपमा बढेपछि एउटै बेडमा तीनदेखि चार जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको अस्पताल प्रशासनले जनाएको छ।

वीर अस्पतालकी निमित्त निर्देशक डा. प्रभा चापागाईंले आकस्मिक सेवामा आएका बिरामीलाई उपचार नगरी फर्काउन नसकिने भएकाले उपलब्ध स्रोत र साधनकै आधारमा सेवा दिनुपरेको बताइन्। उनका अनुसार नियमित सेवाहरू बन्द भएकाले अन्य दिनको तुलनामा आकस्मिक कक्षमा बिरामीको चाप उल्लेखनीय रूपमा बढेको थियो।

सरकार र चिकित्सकबीच सहमति भएसँगै अस्पतालहरूमा रोकिएका नियमित स्वास्थ्य सेवा, बहिरंग (ओपीडी) सेवा तथा पूर्वनिर्धारित उपचार प्रक्रिया बिहीबारदेखि पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ८ : ११ बजे