काठमाडौँबाट रसुवाको स्याफ्रबेसीतर्फ गइरहेको एयर डाइनेष्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको छ । हेलिकप्टरका क्याप्टेन अरूण मल्लसहित सवार पाँचै जनाको मृत्यु भएको छ ।
उक्त हेलिकप्टरमा क्याप्टेन मल्लका साथ चार जना चिनियाँ नागरिक रहेको बताइएको छ । मृत्यु हुनेचिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् ।
नागरिक उड्यायन प्राधिकरणका अनुसार एयर डाइनेस्टीको ९एन एजेडी कलसाइनको हेलिकप्टमा दुर्घट्नामा परेको हो । हेलिकप्टर दिउँसो २ बजेदेखि त्रिभुवन विमानस्थलको टावरसँग सम्पर्क टुटेकोमा नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो ।
छानबिन गर्न तीन सदस्यीय आयोग
यसैबीच सरकारले नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँच आयोग गठन गरेको हो ।
आयोगमा विष्णु बस्न्यात र तनुजा पोखरेल सदस्य छन् । बस्न्यात सिम्रिक एयरका मेन्टिनेन्स मेनेजर र पोखरेल पर्यटन मन्त्रालयकी सीडीई (एरोनटिकल) हुन् । पोखरेलले आयोगको सदस्यसचिवका रूपमा पनि काम गर्नेछन् ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आयोगले ३० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।









