२१ कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025

फिप्नाद्वारा न्यूयोर्कमा सांस्कृतिक परेडसहित ३१औं विश्व आदिवासी दिवस मनायो



न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले ३१औं विश्व आदिवासी दिवसको अवसरमा आइतबार न्यूयोर्कको ज्याकसन हाइटमा सांस्कृतिक परेडसहित विशेष कार्यक्रम आयोजना गरेको छ ।

अमेरिकाको न्यूयोर्क, न्यूजर्सी, कनिक्टिकटलगायत राज्यमा बसोबास गर्ने नेपाली आदिवासी तथा अन्य नेपाली समुदायको सहभागितामा भएको परेड ७२ स्ट्रिटदेखि सुरु भई ७८ स्ट्रिटमा निर्माण गरिएको खुला मञ्चमा समापन भएको थियो ।

परेड र कार्यक्रममा तामाङ, नेवार, शेर्पा, ह्योल्मो, ढोक्प्या, राई, लिम्बु, गुरुङ, मगरलगायत समुदायका गीत–नृत्य प्रस्तुत गरिएका थिए भने फिलिपिन्सका आदिवासी समुदायले पनि आफ्नो सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए ।

कार्यक्रमको उद्घाटन बौद्ध धर्मगुरु टुल्कु उर्गेन शेर्पाको शान्ति प्रार्थनासहित भएको थियो । प्रमुख अतिथि नेपाली महावाणिज्यदूत दधिराम भण्डारी थिए । कार्यक्रममा न्यूयोर्क राज्यका एसेम्बली मेम्बर स्टेफन रागा, सिनेटर जोन लु, काउन्सिल मेम्बर फिल वाङ र बर्नी चाउ, मेयर कार्यालयका प्रतिनिधि सुकरानी धनपद र तेन्जीङ छेवाङलगायत अमेरिकी जनप्रतिनिधिहरु सहभागी थिए ।

नेपालबाट विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक तथा ‘उज्यालो अभियान’का नायक कुलमान घिसिङ, फिप्ना अन्तर्गतका १८ जातीय सदस्य संस्थाका प्रतिनिधि तथा स्थानीय नेपाली संघ–संस्थाका अगुवाहरूको विशेष उपस्थिति रहेको थियो ।

फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामा ह्योल्मोले आदिवासी समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा पहिचानबारे चेतना जगाउने कार्य फिप्नाको प्राथमिकता भएको बताए । कार्यक्रम संयोजक पूर्ण पैजा मगरले सांस्कृतिक विविधता राष्ट्रको धरोहर भएकाले राज्यले यसको संरक्षण र नयाँ पुस्ताले अंगाल्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

महावाणिज्यदूत भण्डारीले यस किसिमका कार्यक्रमले अमेरिकामा नेपाललाई चिनाउन मद्दत पुग्ने उल्लेख गर्दै महावाणिज्यदूतको कार्यालय फिप्नासँग सहकार्य गरेर नेपाल प्रवर्द्धनका गतिविधि अघि बढाउन तयार रहेको बताए ।

कुलमान घिसिङले विदेशी भूमिमा पनि आफ्ना परम्परा र संस्कृतिको प्रवर्द्धन सराहनीय रहेको भन्दै, ‘उज्यालो नेपाल अभियान’मा सबैको सहयोगका लागि आग्रह गरे ।

न्यूयोर्कका सांसद स्टेफन रागाले क्वीन्स काउन्टीको विविधता र आदिवासी समुदायको भूमिकाको चर्चा गर्दै, सबै समुदायको सम्मान र पहुँच सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरे । सिनेटर जोन लुले न्यूयोर्क सिटीमा नेपालको सांस्कृतिक विविधताले शहरलाई थप सशक्त बनाएको बताए ।

दिवसको अवसरमा फिप्नाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने तीन व्यक्तिलाई सम्मानपत्र प्रदान गर्‍यो । सम्मानितमध्ये सञ्चारकर्मी मच्छेदेवी गुरुङ र खड्का बहादुर पुलामी (बिक्की), तथा फिल्मकर्मी दल प्रसाद लिङदेन थिए । सम्मान प्रमुख अतिथि भण्डारी र अध्यक्ष तोरण गुरुङले प्रदान गरे ।

मच्छेदेवी गुरुङ सञ्चारकर्मी हुन् । नेपालमा रेडियो पत्रकारिताको क्षेत्रमा एक दशक सम्म सक्रिय रहेका गुरुङ हाल न्यूयोर्कबाट सञ्चालित नेपाली समुदायिक अनलाईन पोर्टल एनवाईसी नेपालन्युजका सम्पादक हुन् । यसअघि एभरेष्ट टाइम्समा सक्रिय रहेकी गुरुङ नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व कोषाध्यक्ष र उपाध्यक्षसमेत भइसकेकी छन्इ । सम्पादक गुरुङ लामो समयदेखि पत्रकारितामार्फत महिला, बालबालिका, पछाडि पारिएका समुदाय, आदिवासी जनजाति तथा सिमान्तकृत समुदायको लागि आवाज उठाउँदै आएकी छन् । नेपाली राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरमा इन्टर्नसिप गरेर सुरु गरेको उनको पत्रकारिता एन्टेना फाउन्डेसन नेपाल, रेडियो सगरमाथा, समकोण टेलिभिजन कार्यक्रम, एभरेष्टटाइम्स न्युजहुँदै अहिले एनवाइसीनेपालन्युजडटकमसम्म निरन्तर जारी छ ।

द गुरुङ (तमु) सोसाइटी इन्क, तामाङ सोसाइटी अफ अमेरिका, मगर संघ अमेरिका, शेर्पा संघ अमेरिका, किरात याक्थुङ चुम्लुङ अमेरिका, किरात राई सोसाइटी अफ अमेरिका, थारु एण्ड फ्रेण्ड्स एशोसिएसन, ढोक्प्या किदुग युएसए, युनाइटेड मुगुम अर्गनाइजेशन, नेवा गुठी न्यूयोर्क, ह्योल्मो सोसाइटी अफ अमेरिका, नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) लगायतका संस्थाले सांस्कृतिक झाँकी र व्यानरसहित सहभागिता जनाएका थिए ।

कार्यक्रमको समापनमा फिप्ना अध्यक्ष गुरुङले प्रवासमा रहेर पनि भाषा, संस्कृति र पहिचान जोगाउनु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै, नेपालमा गणतन्त्र, समावेशीता र धर्मनिरपेक्षताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  १० : २९ बजे