सन् २०२५ को विश्वव्यापी रोजगारी बजारका लागि ‘लेअफ’ वा कर्मचारी कटौती एक प्रमुख विशेषता बनेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को बढ्दो प्रयोग र विस्तारका कारण विश्वका ठूला कम्पनीहरूले हजारौँको संख्यामा कर्मचारी कटौती गरिरहेका छन् ।
कन्सल्टिङ फर्म ‘च्यालेन्जर, ग्रे एन्ड क्रिसमस’को तथ्याङ्क अनुसार, यस वर्ष अमेरिकामा मात्रै झन्डै ५५ हजार कर्मचारीले एआईका कारण जागिर गुमाएका छन् । सन् २०२५ को अन्त्यसम्ममा कुल ११ लाख ७० हजार (१.१७ मिलियन) रोजगारी कटौती भएको छ, जुन सन् २०२० को कोभिड-१९ महामारी पछिको सबैभन्दा उच्च स्तर हो।
एआई: समाधान कि बहाना?
बढ्दो मुद्रास्फीति र खर्च कटौतीको दबाबमा रहेका कम्पनीहरूका लागि एआई एक आकर्षक छोटो अवधिको समाधान बनेको छ। म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एकआइटिको MIT) को एक अध्ययन अनुसार, एआईले अमेरिकी श्रम बजारको ११.७ प्रतिशत काम गर्न सक्छ, जसले वित्त र स्वास्थ्य क्षेत्रमा मात्र १.२ ट्रिलियन डलर ज्याला बचत गर्न सक्छ।
यद्यपि, सबै विज्ञहरू एआईलाई मात्रै रोजगारी कटौतीको मुख्य कारण मान्न तयार छैनन् । अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका सहायक प्राध्यापक फाबियन स्टेफनीका अनुसार, महामारीको समयमा धेरै कम्पनीहरूले आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गरेका थिए । अहिले भइरहेको कटौतीलाई उनले ‘मार्केट क्लियरेन्स’ वा बजार सन्तुलनको संज्ञा दिँदै एआईलाई केवल ‘बलीको बोको’ बनाइएको टिप्पणी गरेका छन् ।
कटौती गर्ने प्रमुख विश्वप्रसिद्ध कम्पनीहरू
सन् २०२५ मा एआईलाई मुख्य कारण देखाउँदै रोजगारी कटौती गर्ने केही प्रमुख कम्पनीहरू यसप्रकार छन्:
अमेजन: अक्टोबरमा अमेजनले आफ्नो इतिहासकै सबैभन्दा ठूलो कटौती गर्दै १४ हजार कर्पोरेट पदहरू हटाएको छ । सिइओ एन्डी जैसीले एआईमा कार्यरत जनशक्तिलाई सानो बनाउने र अब कम मानिसबाट धेरै काम हुने बताएका छन् ।
माइक्रोसफ्ट: यस वर्ष माइक्रोसफ्टले कुल १५ हजार रोजगारी कटौती गरेको छ । सिइओ सत्या नाडेलाले कम्पनीलाई ‘सफ्टवेयर फ्याक्ट्री’ बाट ‘इन्टेलिजेन्स इन्जिन’ मा रूपान्तरण गर्न यो कदम चालिएको बताएका छन् ।
सेल्सफोर्स: सेप्टेम्बरमा सेल्सफोर्सले एआईको सहयोगले ४ हजार ग्राहक सहायता कर्मचारी कटौती गरेको पुष्टि गरेको छ । सिइओ मार्क बेनिओफका अनुसार अहिले कम्पनीको झन्डै ५० प्रतिशत काम एआईले नै गरिरहेको छ ।
आइबीएम: आइबीएमका सिइओ अरविन्द कृष्णले एआई च्याटबोट्सले ह्युमन रिसोर्सका सयौँ कर्मचारीको काम प्रतिस्थापन गरेको बताए । यद्यपि, सफ्टवेयर इन्जिनियरिङ र सेल्स जस्ता क्षेत्रमा भने कम्पनीले भर्ना जारी राखेको छ ।
वर्कडे र क्राउडस्ट्राइक: वर्कडेले एआईमा लगानी बढाउन आफ्नो कार्यशक्तिको ८.५ प्रतिशत (करीब १७५० जना) र साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले ५ प्रतिशत कर्मचारी कटौती गरेका छन् ।
सन् २०२५ को यो प्रवृत्तिले प्रविधिमा आएको परिवर्तनसँगै विश्वव्यापी श्रम बजारमा ठूलो उथलपुथल ल्याएको छ । कम्पनीहरूले प्रविधिलाई ‘फोर्स मल्टिप्लायर’ का रूपमा प्रयोग गर्दा मानव जनशक्तिको आवश्यकता खुम्चिँदै गएको देखिन्छ ।








