७ माघ २०८२, मंगलबार | Wed Jan 21 2026

बौद्ध भिक्षुद्धारा शान्ति पदयात्रा जारी



कृष्णराज खनाल
राले, अमेरिका । अमेरिका र विश्व शान्तिको कामनासहित वौद्ध भिक्षुहरुले शान्ति पदयात्रा थालेका छन् ।

टेक्ससको फोर्टवर्थस्थित ह्युयोंग दाओ विपश्यना ध्यान शिविरबाट गत अक्टुवर २६ मा यो शान्ति पदयात्रा सुरु भएको थियो र आगामी फेव्रुअरीको दोस्रो हप्तातिर राजधानी वाशिंटन डिसीमा पुगेर सम्पन्न हुनेछ । डिसीसम्म पुग्दा शान्ति पदयात्रामा सहभागी यात्रुले करिब दुई हजार तीन सय माइलको दूरी पार गर्नेछन् । शान्ति पदयात्रामा आलोक नामक कुकुर लगायत करीब दुई दर्जन वौद्ध भिक्षुहरु सहभागी छन् ।

टेक्ससबाट शान्ति पदयात्रामा निस्केको सो समूहले अमेरिकाका १० वटा राज्य लुजियाना, मिसिसिपी, अलावामा, जर्जिया, साउथ क्यारोलाइना, नर्थ क्यारोलाइना, भर्जिनिया, मेरिल्याण्ड हुँदै वाशिंटन डिसीमा पुगेर झण्डै चार महिना लामो आफ्नो शान्ति पदयात्रा समाप्त गर्नेछ ।

यात्राको ७७ औँ दिन शनिवार सो समूह साउथ क्यारोलाइनाको लेक्सिंटनमा बास बसेको छ । जहाँ जहाँ उनीहरु बास बस्छन् सो भेगका मानिसहरुलाई मन्तव्यसहित शान्तिको महत्व र सन्देश छाडेर जाने गरेका छन् । डिसी पुगेपछि उनीहरुले शान्ति, अहिंसा, मानवता र बुद्धको सन्देशसहित मन्तव्य दिएर यात्राको समापन गर्ने बताइएको छ । यो यात्राले अहिंसा, सद्भाव र मानवतालाई मूल सन्देशका रुपमा राखेको छ ।

उक्त समूहले बनाएको फेसबुकमा दिइएको जानकारी अनुसार, उनीहरुको पदयात्राले अमेरिकीहरुलाई सम्झाउने छ कि ‘शान्ति गन्तव्य होइन, यो एक अभ्यास हो । राष्ट्रले घर र विदेश दुवैमा विभाजन, मानसिक स्वास्थ्य संकट, द्धन्द्ध, विभाजन र हिंसा जस्ता चुनौतीहरुको सामना गरिरहेको बेला यो पदयात्राले शान्ति प्रत्येक व्यक्तिको हृदयभित्र सुरु हुन्छ र परिवार, समुदाय र समग्रमा समाजमा फैलिन्छ’ समूहको विज्ञप्तिमा भनिएको छ । सो फेसबुकमा आठ लाख फलोअर्स छन् भने कुकुर ‘आलोक दि पिस डग’ को मात्रै चार लाख ५० हजार फलोअर्स छन् ।

पदयात्रामा निस्कँदा विभिन्न स्थानको सडकको दायाँ बायाँ हजारौँ मानिसहरुले उनीहरुलाई पुष्पगुच्छासहित स्वागत तथा अभिवादन गरिरहेका छन् । वौद्ध भिक्षुहरुको यो शान्ति पदयात्राको स्थानीय एवं राष्ट्रियस्तरका पत्रपत्रिका तथा टेलिभिजनमा प्रमुखताका साथ समाचार प्रचार तथा प्रसार भइरहेको छ ।

यो समूहका नेतृत्वकर्ता भीक्षु पानकरा भन्नुहुन्छ ‘यदि तपाई पूर्ण रुपले सजग र जाग्रत हुनुहुन्छ भने कुनै पनि कुराले सहजै हल्लाउन सक्दैन । यो यात्रामा म प्रत्येक पाइला सजगताका साथ चाल्छु, अरु जस्तै म पनि बिरामी हुन्छु, मेरो स्वास्थ्य त्यति धेरै स्वस्थ छैन । यसलाई कमजोर बनाउने कि बलियो त्यो आफैमा निर्भर गर्दछ ।’

यो समूहलाई एक जना क्रिस्चियन धर्ममा आवद्ध प्रदर्शनकारीले प्लेकार्डसहित अवरोध गरेका थिए । उनले ‘यदि तिम्रो जरा क्राइष्टसँग जोडिएको छैन भने तिमी नर्कको मार्गमा हिँडिरहेका छौ र म तिमीहरुलाई त्यो बाटो हिँड्न दिन्न’ भनेर लेखेका थिए । त्यसो भन्दा भिक्षुले भन्नुभयो ‘यदि हामी नर्क जान्छौँ भने त्यो हाम्रो छनोट हो ।’

तस्वीरः गास्टोन गजेट

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ९ : ३२ बजे